काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा भन्सार अधिकृत सन्तोष चन्द निलम्बनमा परेका छन् । उनीसँगै अर्का नायब सुब्बालाई पनि निलम्बन गरिएको छ । तर उनको भने नाम सार्वजनिक भएको छैन ।
सय किलो सुन बरामद प्रकरणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको हो । सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
यो सँगै प्रारम्भिक चरणमा सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी रहेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् ।
विशेष सुराकीको आधारमा राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक सय किलो बढी सुन बरामद गरेको थियो । हालसम्म उक्त सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन ओसारपसारमा संलग्न रहेको आरोपमा बिहीबार पक्राउ परेका ६ जना मध्ये हालसम्म ४ जनाको मात्र नाम सार्वजनिक भएको छ ।
जसमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायत पक्राउमा परिसकेका छन् ।
विमानस्थलबाट जाँच पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेको अवस्थामा सिनामंगलबाट बरामद गरिएको थियो ।
हङकङबाट ल्याइएको उक्त सुनको विषयमा थप अनुसन्धान जारी रहेकाले आज धेरै कुराहरू खुल्ने बताइएको छ । विभिन्न उपकरणहरूभित्र राखेर सुन ल्याएको अवस्थामा छापा टोलीले उक्त सुन पक्राउ गरेको हो ।
स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान विभागका एक अधिकारीले बताए ।
यो विभागको इतिहासकै ठूलो अपरेसन हो । उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । चार दिन अगाडि प्यासिफिक एयरबाट यो सबै सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।