हेटौँडा सिमेन्ट उद्योग संकटमा, पूर्ण सञ्चालनका लागि सरकारसँग दबाब

हेटौँडा सिमेन्ट उद्योग संकटमा, पूर्ण सञ्चालनका लागि सरकारसँग दबाब

बागमती । आर्थिक समस्याले थलिएको हेटौँडा सिमेन्ट उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्न माग तीव्र भएको छ ।

लामो समयदेखि अनियमित रूपमा सञ्चालन हुँदै आएको उद्योग अहिले कच्चा पदार्थ अभाव, ऋणभार र व्यवस्थापन समस्याका कारण संकटमा परेको छ ।

रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै अएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।

सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएको छ । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए ।

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रधानमन्त्री, उद्योगमन्त्री तथा प्रदेश नेतृत्वसँग छलफल भइसकेको छ र सकारात्मक संकेतहरू प्राप्त भएका छन् । उद्योगमा देखिएको समस्या समाधान गर्न नयाँ व्यवस्थापन, राजनीतिक हस्तक्षेप अन्त्य र पारदर्शिता आवश्यक रहेको उनको भनाइ छ ।

“उद्योग चलाउन सकिने सम्भावना देखिन्छ, उद्योग रुग्ण हुनुमा व्यापारिकभन्दा पनि सरकारी भएपछि सेवामूलक, तलबमात्र खाने बाटो बनाएको जस्तो मात्र्रै देखिन्छ”, उनले भने, “उद्योगमा हुँदै आएको राजनीतिक हस्तक्षेप, आन्तरिक रूपमा हुने भ्रष्टाचार रोक्न सकियो र नयाँ व्यवस्थापन टिम बनाउन सकियो भने उद्योग चलाउन सकिने सम्भावना देखिन्छ ।” त्यसैका लागि म प्रयास गरिरहेको छु, छिट्टै सकारात्मक परिणाम आउन सक्नेमा विश्वास्त छु, उनको कथन छ ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा उद्योग अत्यन्तै सीमित समय मात्र सञ्चालनमा आएको छ । गत भदौमा केही दिन सञ्चालन हुँदा करिब २,५०० टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन भएको थियो । तर कच्चा पदार्थको अभावका कारण उत्पादन फेरि रोकिएको छ ।

कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता तिर्न नसक्दा आपूर्ति हुन सकेको छैन । उद्योगलाई दैनिक सञ्चालनका लागि करिब १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल त्यो उपलब्ध छैन ।

उद्योगका निमित्त महाप्रबन्धक डा. शिवनारायण साहका अनुसार मौज्दात कच्चा पदार्थबाट केही दिन उत्पादन सम्भव भए पनि त्यसपछि उत्पादन पूर्ण रूपमा ठप्प हुने अवस्था छ । उत्पादन बन्द हुँदा पनि कर्मचारीको तलब, मर्मत र अन्य खर्च भने निरन्तर बढिरहेको छ । उद्योगमा हाल ३१८ जना कर्मचारी कार्यरत छन् । तर आर्थिक अभावका कारण अतिरिक्त समय काम गरेको भुक्तानीसमेत दिन नसकिएको जनाइएको छ । साथै, विद्युत् महसुल तिर्न नसक्दा करिब ३० देखि ४० करोड रुपैयाँ बक्यौता रहेको अनुमान गरिएको छ, जसले नियमित विद्युत् आपूर्ति प्रभावित हुने जोखिम बढाएको छ ।

वि.सं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । प्राविधिकहरूका अनुसार उपकरण आधुनिकीकरण नगरेसम्म उत्पादन प्रभावकारी बनाउन कठिन हुने देखिन्छ । सरकार, व्यवस्थापन र सरोकारवालाबीच समन्वय गरेर आवश्यक सुधार गर्न सकिए हेटौँडा सिमेन्ट उद्योगलाई पुनः चलायमान बनाउन सकिने विश्वास व्यक्त गरिएको छ । उद्योगलाई नियमित सञ्चालनमा ल्याउन सके यसले रोजगारी संरक्षणसँगै देशको सिमेन्ट आपूर्तिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।