कैलाली । वर्षायाम लाग्नेबित्तिकै त्रासले रात काट्ने झलझलियाका बासिन्दाका लागि कन्द्रा नदी कुनै समय वरदानभन्दा बढी अभिशापजस्तै बनेको थियो ।
वर्षेनि आउने बाढी, कटान र डुबानले यहाँका सयौँ परिवारको जीवन अस्तव्यस्त बनाउने गर्थ्यो । खेतीयोग्य जमिन बगरमा परिणत हुन्थ्यो, घरबस्ती जोखिममा पर्थे, र कतिपय परिवार विस्थापित हुन बाध्य हुन्थे ।
तर अहिले त्यही बस्तीमा आशाको नयाँ कथा लेखिँदैछ—जैविक तटबन्धको। भजनी नगरपालिका–४ झलझलियामा स्थानीयको पहलमा सुरु गरिएको जैविक तटबन्ध निर्माणले बिस्तारै प्रभाव देखाउन थालेपछि यहाँका बासिन्दामा आत्मविश्वास फर्किएको छ । “पहिले हरेक वर्ष बाढीले घर डुबाउँछ कि भन्ने डर हुन्थ्यो,” स्थानीय अमरराज न्यौपाने सम्झन्छन्, “तर अहिले तटबन्धले केही हदसम्म सुरक्षा दिएको छ, अब त हामीलाई बाँच्ने भरोसा जागेको छ ।”
गत वर्षको भदौ महिनामा सुरु भएको यो अभियान कुनै ठूलो बजेटबाट होइन, बरु स्थानीयकै सानो–सानो योगदानबाट सुरु भएको थियो । प्रत्येक घरबाट एक सय रुपैयाँ सङ्कलन गरेर र आफ्नै श्रमदानमार्फत बोरा भरेर नदी किनारमा तटबन्ध बनाइएको थियो । त्यो सानो प्रयासले ठूलो परिणाम दियो । बस्तीमा पस्ने नदीको धार रोकिन थाल्यो । कटान कम भयो । अनि यही सफलताले यस वर्ष थप उत्साह थपिदियो । अहिले नगरपालिकासहित विभिन्न संघ–संस्थाको सहकार्यमा तटबन्ध विस्तार भइरहेको छ ।कन्द्रा नदीको कटानले झलझलियामा वर्षेनि सयौँ बिघा जमिन बगरमा परिणत हुँदै आएको छ । करिब ४३५ घरधुरी प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।
धेरै परिवारको मुख्य आयस्रोत खेती नै रहेकाले जमिन गुम्दा उनीहरूको जीवन झनै कठिन बन्दै गएको थियो । स्थानीय लक्ष्मीप्रसाद जैशी भन्छन्, “हामीले वर्षौँसम्म सरकारसँग गुहार्यौँ, तर काम भएन । अन्ततः आफ्नै पहलमा सुरु गरिएको कामले अहिले परिणाम दिन थालेको छ ।” अहिलेसम्म पाँच सय मिटरभन्दा बढी क्षेत्रमा जैविक तटबन्ध निर्माण भइसकेको छ भने आगामी दिनमा सात सय ५० मिटरसम्म विस्तार गर्ने योजना रहेको छ । नगरपालिकाका प्रमुख केवल चौधरीका अनुसार करिब २५ लाख रुपैयाँको लागतमा यो काम भइरहेको छ । जैविक तटबन्धको अर्को महत्वपूर्ण पक्ष भनेको यसको दीगो प्रभाव हो । यसले नदीको धार नियन्त्रण गर्नुका साथै वातावरणमैत्री संरक्षणमा पनि योगदान पुर्याउँछ । यही कारण अहिले तटबन्ध आसपास क्षेत्रमा बगरखेतीको सम्भावना पनि बढेको छ ।
नेपाल रेडक्रस सोसाइटी र अन्य संस्थाहरूको सहयोगमा त्यहाँ सामुदायिक कृषि वन कार्यक्रम सञ्चालन गरिएको छ । फलफूल खेतीलाई प्राथमिकता दिँदै बाढी प्रभावित परिवारलाई आयआर्जनमा जोड्ने प्रयास भइरहेको छ । स्थानीय फागुराम डगौरा भन्छन्, “पहिले बाढीले सबै बगाउँथ्यो, अहिले भने केही जोगिन थालेको छ । बाँकी क्षेत्रमा पनि तटबन्ध बनेपछि अझ सुरक्षित हुने विश्वास छ ।” झलझलियाको यो कथा केवल नदी नियन्त्रणको कथा होइन, यो सामूहिक प्रयास, धैर्यता र आशाको कथा हो । सानो स्रोत र ठूलो इच्छाशक्तिले कसरी परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण बनेको छ यो बस्ती ।
कन्द्रा नदीसँगको यो संघर्ष अझै समाप्त भएको छैन, तर जैविक तटबन्धले देखाएको बाटोले यहाँका बासिन्दालाई एउटा कुरा सिकाएको छ—समस्या जति ठूलो भए पनि समाधान सामूहिक प्रयासमै सम्भव हुन्छ । बाढी प्रभावितलाई लक्षित गर्दै जीविकोपार्जनसहितको कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । यस वर्ष थोरै भए पनि तटबन्धका कारण बाढीको जोखिमबाट छुटकारा पाएका स्थानीय बाँकी रहेको क्षेत्रमा पनि तटबन्ध हुने भएपछि अबका दिन यसभन्दा पहिलेका जस्ता नहुने झलझलियाका फागुराम डगौराले बताए । वर्षात्को समय भजनीलाई बाढी र डुबानले बर्सेनि आक्रान्त बनाउँदै आएको छ । कन्द्रा नदी त्यस क्षेत्रमा सबैभन्दा बढी दुःख बनेर बसेको छ ।

























