प्रशोधित पानीको मूल्य समायोजन गर्ने निर्णय

प्रशोधित पानीको मूल्य समायोजन गर्ने निर्णय

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागत अत्यधिक बढेको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।

महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा कच्चा पदार्थ र सञ्चालन खर्च दुवैमा उल्लेख्य वृद्धि भएपछि उद्योग सञ्चालन नै चुनौतीपूर्ण बनेको जनाएको छ। बोतल, क्याप, जार, र्‍यापिङ रोल लगायत प्याकेजिङ सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि बढेको उल्लेख गरिएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा आएको उतारचढावले आपूर्ति प्रणाली प्रभावित हुँदा कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको छ।

हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा करिब १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। तर, बढ्दो लागतका कारण उद्योग सञ्चालन नै जोखिममा परेको महासंघले जनाएको छ।

महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार हालको मूल्यमा उत्पादन र वितरण सम्भव नभएकाले मूल्य समायोजन बाध्यात्मक बनेको हो। उनले यो निर्णय नाफाका लागि नभई उद्योग बचाउन गरिएको कदम भएको स्पष्ट पारे। महासंघले सदस्य उद्योगहरूलाई उत्पादन लागत अनुसार मूल्य समायोजन गरी बिक्री गर्न आग्रह गर्दै सरकारसँग उद्योगमैत्री नीति, कच्चा पदार्थ आपूर्ति सहज बनाउन कूटनीतिक पहल र ढुवानी लागत नियन्त्रणका उपाय अपनाउन माग गरेको छ। साथै, उपभोक्ता र सरोकारवालालाई उद्योग संरक्षण, रोजगारी सुरक्षा र सेवा निरन्तरताका लागि गरिएको यो बाध्यात्मक निर्णयलाई बुझिदिन आग्रह समेत गरिएको छ।