काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय (ओडिआई) क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गर्दै दुई फरक टोली घोषणा गरेको छ। अब टी–२० टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् भने एकदिवसीय टोलीको नेतृत्व रोहित पौडेलले मात्र सम्हाल्ने भएका छन्।
क्यानले घरेलु मैदानमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला तथा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि शुक्रबार दुई छुट्टाछुट्टै १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
नेपाल र यूएईबीचको टी–२० शृङ्खला आउँदो सोमबार र मंगलबार हुनेछ। त्यसपछि नेपाल, यूएई र ओमान सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला वैशाख १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ। दुवै प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।
टी–२० टोलीको नेतृत्व दीपेन्द्रलाई
टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जिसी, नारायण जोशी र राशिद खान समावेश छन्।
टी–२० टोलीमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ। नियमित कप्तान रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख र करण केसीलाई यस टोलीमा समावेश गरिएको छैन। पछिल्लो समय प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्राथमिकता दिइएको देखिन्छ।
साथै, कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् भने सन्तोष यादव र हेमन्त धामीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
लिग–२ का लागि रोहितको कप्तानीमा ओडिआई टोली
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाका लागि भने रोहित पौडेलको कप्तानीमा एकदिवसीय टोली घोषणा गरिएको छ। दीपेन्द्र सिंह ऐरी उपकप्तानको भूमिकामा रहनेछन् । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी समावेश छन् । वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन्।
ओडिआई टोलीमा युवा ब्याटर अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन्। घरेलु क्रिकेट र उमेर समूहमा लगातार राम्रो प्रदर्शन गर्दै आएका उनी हालै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट लयमा देखिएका थिए। उनको चयनलाई लामो समयदेखि प्रतीक्षित अवसरका रूपमा हेरिएको छ।
त्यस्तै, अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। उनले पछिल्लो पटक सन् २०२२ मा स्कटल्यान्डविरुद्ध खेलेका थिए । क्यानले फरक–फरक ढाँचाका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गर्नु दीर्घकालीन रणनीतिक निर्णयका रूपमा हेरिएको छ। यसले खेलाडीको विशेषज्ञता अनुसार टोली व्यवस्थापन गर्न र प्रदर्शन सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
टी–२० मा आक्रामक र तीव्र खेलशैली आवश्यक हुने भएकाले दीपेन्द्रलाई नेतृत्व दिइएको अनुमान गरिएको छ भने एकदिवसीय क्रिकेटमा निरन्तरता र स्थिरता कायम राख्न रोहितलाई जिम्मेवारी दिइएको देखिन्छ।
दुवै शृङ्खला घरेलु मैदानमै हुने भएकाले नेपालका लागि यो ठूलो अवसरका रूपमा रहेको छ। घरेलु समर्थकको साथ, परिचित पिच र वातावरणले टोलीलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विशेषगरी लिग–२ शृङ्खला विश्वकप छनोटतर्फ महत्वपूर्ण भएकाले नेपालका लागि प्रत्येक खेल निर्णायक हुनेछ।
समग्रमा, क्यानले नयाँ संरचना र सन्तुलित टोली चयनमार्फत आगामी अन्तर्राष्ट्रिय चुनौतीका लागि तयारी तीव्र पारेको संकेत दिएको छ। अब यी निर्णयहरूले मैदानमा कस्तो परिणाम दिन्छन् भन्ने कुरामा सबैको ध्यान केन्द्रित रहनेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


























