काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठकमा नाराबाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए । उनीमाथि संसद्मा उठेका प्रश्नबारे स्पष्ट पार्न गृहमन्त्री रविलाई समय दिइए पनि कांग्रेसले उनलाई बोल्न दिएन ।
कांग्रेसले लगातार संसद् बैठक अवरोध गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक जेठ १ गते बेलुका ६ बजे बस्ने गरी स्थगित गरेका छन् ।
गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरोध थालेको छ । कांग्रेस सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने, संसदीय मर्यादा कायम गर्नुपर्ने, समिति गठन गर्नुपर्ने लगायतका नारा लगाएका छन् ।



























