काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन्।
सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा सभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका हुन् । ‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु,’ गगनलाई उदृत गर्दै स्रोतले भन्यो ।
गगनले राजीनामा दिने बताएपछि विश्वले निर्वाचनमा पराजित हुनुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन अप्ठ्यारोमा पर्ने बताएका थिए । ‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केबल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो,’ विश्वलाई उदृत गर्दै स्रोतले भन्यो,’नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’ उपसभापति शर्माले कुराकानीमा पनि सभापतिले राजीनामाबारे कुरा गरेको पुष्टि गरे । ‘सभापतिले राजीनामा दिन्छु भन्नु भएको छ । यही विषयमा छलफल भएको हो । ’ उपसभापति शर्माले भने ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । रास्वपाले भने प्रत्यक्षमै १२५ सिट जितेको छ । रास्वपा दुई तिहाइनजिक छ । सभापति थापा पनि रास्वपाकै उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । उनी काठमाडौं ४ छोडेर सर्लाही ४ पुगेका थिए । त्यहाँ उनी १२ हजार बढी मतान्तरसहित पराजित भए । उपसभापति शर्माले भने यसपटक चुनावै लडेनन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




























