प्रतिबन्धका अमेरिकी उपाय इरानमा निष्प्रभावी

प्रतिबन्धका अमेरिकी उपाय इरानमा निष्प्रभावी

वर्षौँदेखि समाजशास्त्री र राजनीतिशास्त्रीहरूले प्रतिबन्धले ‘काम गर्दैन’ भनेर चेतावनी दिँदै आएका छन् । यसले लक्षित सरकारहरूलाई ढाल्दैन, बरु त्यहाँका नागरिकहरूलाई चोट पुर्‍याउँछ । तैपनि अमेरिकाको नेतृत्वमा प्रतिबन्धहरूको प्रयोग झन् विस्तार भएको छ ।

फलस्वरूप यस्ता दण्डात्मक उपायहरूमाथिको अत्यधिक निर्भरताले तिनलाई झन् निष्प्रभावी बनाउँदै लगेको बढ्दो प्रमाणहरू देखिएका छन् । इरानमाथिको अमेरिका–इजरायल युद्धले अझ स्पष्ट पारेको छ । द्वन्द्वले अमेरिकी प्रतिबन्धहरूको प्रभावलाई कमजोर बनाउने प्रक्रियालाई थप अगाडि बढाउने सम्भावना बोकेको छ, जुन पहिलेदेखि नै जारी थियो । यसले डलरको प्रयोग घटाउने (डि–डलराइजेसन), वस्तु विनिमय (बार्टर) जस्ता वैकल्पिक व्यापार पद्धतिहरू र ‘हुण्डी’ जस्ता अनौपचारिक स्थानान्तरण सञ्जालहरूसहित विभिन्न संयन्त्रमार्फत क्षेत्रीय र विश्वव्यापी पात्रहरूको प्राथमिकतालाई नयाँ आकार दिइरहेको छ । अमेरिकाले लगाएको प्रतिबन्धलाई प्रभावकारी बनाउन विश्वव्यापी व्यापारमा आफ्नो मुद्रा (डलर) को प्रभुत्वमाथि भर पर्छ । प्रतिबन्धित राज्यहरूले प्रतिबन्धित

व्यापार गर्न सक्दैनन्, किनभने खरिदकर्ता र बिक्रेताहरूले डलरमा भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । विश्वभर वैकल्पिक भुक्तानी पद्धतिको रूपमा क्रिप्टोकरेन्सीको विस्तारले यो समस्यालाई छल्ने बाटो प्रदान गरेको छ । विगत केही वर्षदेखि इरान वित्तीय कारोबारका लागि क्रिप्टोकरेन्सीमा ठूलो मात्रामा निर्भर हुन थालेको छ । ब्लकचेन डाटा प्लेटफर्म चेनएनलिसिसको एक प्रतिवेदनले देखाउँछ कि सन् २०२५ मा प्रतिबन्धित निकायहरूमा हुने क्रिप्टोकरेन्सी प्रवाह उल्लेखनीय रूपमा बढेको छ, जसको मूल्य ६९४ प्रतिशतले वृद्धि भई कीर्तिमानी १५४ अर्ब डलर पुगेको छ, जुन सन् २०२४ मा ५९ अर्ब डलर मात्र थियो ।

वर्षको अन्तिम त्रैमासिकमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मात्रै प्राप्त मूल्यको ५० प्रतिशत अर्थात् कुल ३ अर्ब डलर ओगटेको थियो।
इरानले आफ्नो क्रिप्टोकरेन्सी सञ्चितिलाई रेन्मिन्बी (चिनियाँ मुद्रा) मा रूपान्तरण गर्छ, जसलाई पछि रुसी सामानहरू किन्न वा एसियाली बजारहरूमा व्यापार गर्न प्रयोग गरिन्छ, यसले इरानलाई वैकल्पिक वित्तीय संरचनामा अझ गहिरोसँग जोड्छ र रेन्मिन्बीलाई बलियो बनाउँछ ।

इरानमाथिको युद्धले अब इरानी राज्य र निकायहरूसँग कारोबार गर्न क्रिप्टोकरेन्सी प्रयोग गर्न इच्छुक आर्थिक पात्रहरूको समूहलाई अझ विस्तार गर्न सक्छ । जब तेहरानले हर्मोज जलसन्धि (जहाँबाट विश्वको लगभग २० प्रतिशत तेल र एलएनजी पास हुन्छ) माथि नियन्त्रण कायम गर्‍यो, उसले जलसन्धि भएर जाने जहाजहरूबाट पारवहन शुल्क (ट्रान्जिट टोल) माग्न थाल्यो । प्रतिब्यारेल न्यूनतम १ डलरबाट सुरु हुने ती शुल्कहरू बिटक्वाइन वा रेन्मिन्बीमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरियो र प्रतिवेदनहरूले धेरै जहाज र कम्पनीहरूले भुक्तानी गरेको देखाएका छन् । ‘यूएसडीटी’ जस्ता स्टेबलकोइनहरू विपरीत बिटक्वाइन पूर्ण रूपमा विकेन्द्रीकृत छ र यसलाई कुनै पनि जारीकर्ताले रोक्का गर्न सक्दैन ।

हाल खाडीमा ट्यांकरहरूमा करिब १७ करोड ५० लाख ब्यारेल तेल लोड भएको अवस्थामा जलसन्धि पुनः खुलेमा आंशिक टोल संकलनबाट मात्रै पनि ठूलो राजस्व प्राप्त हुन सक्छ । रेन्मिन्बीको प्रयोग पनि उत्तिकै महत्वपूर्ण छ । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो र उसले आफ्नै मुद्रामा भुक्तानी गर्छ । तर अन्य देशहरूले पनि

रेन्मिन्बी प्रयोग गर्न थालेका छन् । सन् २०२४ मा चीनको बाह्य व्यापारको ३० प्रतिशत भुक्तानी उसकै मुद्रामा भएको थियो । टोल संयन्त्र (शुल्क उठाउने व्यवस्था) विशेषगरी रेन्मिन्बी प्रयोग गर्न कम्पनीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण छ, किनभने यसले डलरमा निर्भर हुनुको लागतलाई बेवास्ता गर्न असम्भव बनाइदिएको छ । लामो समयदेखि डलरमा आधारित व्यापारको असुविधा भोग्दै आएका देशहरूले अहिले यसको भू–राजनीतिक जोखिमलाई प्रत्यक्ष रूपमा सामना गरिरहेका छन्, अमेरिकाले डलरको पहुँचलाई आफ्ना सहयोगी र शत्रु दुवैविरुद्ध दोस्रो तहको प्रतिबन्ध (सेकेन्डरी स्यांक्सन्स), इच्छा अनुसार दिइने वा निलम्बन गरिने छुट (वेभर्स), र अमेरिकासँगको सम्बन्ध जस्तोसुकै भए पनि विश्वव्यापी ऊर्जा बजारलाई अवरुद्ध पार्ने नाकाबन्दीमार्फत कसरी हतियार बनाइरहेको छ भन्ने कुरा उनीहरूले देखिरहेका छन् ।

यद्यपि क्रिप्टोकरेन्सी र रेन्मिन्बीमार्फत डलरको प्रयोग घटाउनु भनेको युद्धले तीव्र बनाएको वैकल्पिक वित्तीय संरचनाको एउटा तह मात्र हो । अनलाइन (अन–चेन) अर्थतन्त्रमुनि अनौपचारिक तर उत्तिकै महत्वपूर्ण संयन्त्रहरूको सेट रहेको छ, हुण्डी सञ्जाल र वस्तु विनिमय (बार्टर) व्यवस्थाहरू जसलाई युद्ध र नाकाबन्दीले क्षेत्रीय र विश्वव्यापी व्यापारको मुख्यधारमा धकेल्न सक्छ । हुण्डी अनौपचारिक स्थानान्तरण प्रणाली हो, जुन शताब्दीयौँदेखि अस्तित्वमा छ । यसले दलालहरूको सञ्जालमार्फत काम गर्छ, जसले पैसाको भौतिक ओसारपसार बिना नै विभिन्न स्थानमा भुक्तानी सम्भव तुल्याउँछन् । इरानको हकमा हुण्डीले विश्वसनीय मध्यस्थकर्ताहरू प्रायः विभिन्न देशहरूमा स्थापित सेल कम्पनीहरूमार्फत काम गर्छ, जसले सिधै इरानसँग कारोबार नजोडिने गरी इरानी निकायहरूको तर्फबाट कारोबार सहज बनाउँछन् र आयात–निर्यात गतिविधि जारी राख्न मद्दत गर्छन् ।

प्रणालीले साझा फाइदाहरू सिर्जना गर्छ, व्यापारिक गतिविधि, कारोबार शुल्क, रोजगारी, र कानुनी एवं लजिस्टिक सेवाहरूको मागले आयोजक देशहरूलाई यो प्रणाली जारी राख्न प्रत्यक्ष आर्थिक स्वार्थ प्रदान गर्दछ । भौतिक लाभभन्दा बाहिर, यी व्यवस्थाहरूले द्विपक्षीय सम्बन्धहरूलाई बलियो बनाउँछन्, जसलाई आयोजक सरकारहरूले ऊर्जा सुरक्षाको चिन्ताबिच रणनीतिक रूपमा मूल्यवान ठान्छन् । त्यसैले हुण्डीले इरानलाई प्रतिबन्धहरू छल्न मात्र मद्दत गर्दैन, यसले चुपचाप क्षेत्रीय अर्थतन्त्रहरूलाई त्यो छली कार्यमा हिस्सेदारको रूपमा भर्ती गर्छ र क्षेत्रीय वाणिज्यको सामान्य कार्यप्रणालीभित्रै प्रतिबन्ध छल्ने प्रक्रियालाई समाहित गरिदिन्छ ।

युद्धले पहिलेदेखि नै अस्तित्वमा रहेका वस्तु विनिमय (बार्टर) व्यवस्थाहरूको आकर्षण बढाउने र क्षेत्रीय एवं विश्वव्यापी पात्रहरूको फराकिलो दायरालाई आकर्षित गर्ने सम्भावना छ । उदाहरणका लागि सन् २०२१ मा इरान र श्रीलंकाले पछिल्लोले आफ्नो ऋण चिया निर्यातको रूपमा तिर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । इरान र पाकिस्तानबीच पनि बार्टर सम्झौता छ । भारतले अहिले तेलको सट्टा चामल साटासाट गर्ने विचार गरिरहेको छ र रुससँग औद्योगिक सामानहरूको विनिमय विस्तार गर्ने सम्भावना छ । यी प्रत्येकले परम्परागत बैंकिङ च्यानलहरूलाई बाइपास गर्छन्, जसले गर्दा दोस्रो तहको प्रतिबन्ध र डलरमा आधारित फर्स्यौटको जोखिम हट्छ ।

सबैभन्दा उल्लेखनीय कुरा त इरानले अब यो मोडेललाई हर्मोज जलसन्धिमै विस्तार गर्न सक्छ, जसले पारवहन शुल्कबाट प्राप्त हुने राजस्वलाई क्षेत्रीय, एसियाली र युरोपेली बजारहरूमा कारोबार हुने वस्तुहरूमा परिणत गरिदिन्छ र युद्धकालीन एउटा अवरोध विन्दु (चोक प्वाइन्ट) लाई व्यापक बार्टर–आधारित वैकल्पिक अर्थतन्त्रको केन्द्रमा रूपान्तरण गरिदिन्छ ।

तापनि डलरको वर्चस्व रातारात समाप्त हुने सम्भावना छैन । विश्वव्यापी तेल कारोबारको लगभग ८० प्रतिशत अझै पनि डलरमै फर्स्यौट हुन्छ र विश्वव्यापी विदेशी विनिमय सञ्चितिमा डलरको हिस्सा अझै पनि ५७ प्रतिशत छ, जबकि रेन्मिन्बीको हिस्सा केवल २ प्रतिशत मात्र छ, जसको कडा पुँजी नियन्त्रणले यसको परिवर्तनशीलतालाई सीमित गर्छ र साँचो ‘रिजर्भ’ मुद्राको रूपमा यसको व्यवहार्यतालाई बाधा पुर्‍याउँछ ।

अमेरिका–इजरायल युद्धले जेलाई तीव्र बनाइरहेको छ, त्यो तत्कालको प्रतिस्थापन होइन तर क्रमिक क्षय हो, एक सुस्त गतिको परिवर्तन जसको अन्तिम बिन्दु अनिश्चित रहे पनि दिशा भने उल्ट्याउन झन्‌–झन् कठिन हुँदै गएको छ । डलरको प्रयोग घटाउनु, हुण्डी सञ्जाल र वस्तु विनिमय व्यवस्थाहरूले इरानप्रति अमेरिका–इजरायलको युद्ध रणनीतिको केन्द्रमा रहेको एउटा संरचनागत विरोधाभासलाई उजागर गर्दछ । युद्धले यस्तो परिणाम जन्माएको छ जुन यसका योजनाकारहरूले अनुमान गरेका थिएनन्‌ः इरानको प्रतिरोध पूर्वाधारलाई ध्वस्त पार्नुको सट्टा यसले यसलाई अन्तर्राष्ट्रियकरण गरिदिएको छ र विश्लेषकहरूले ‘छलीहरूको अक्ष’ (एक्सिस अफ इभेजन) भनेर वर्णन गरेको कुरालाई विस्तार गरिदिएको छ । यदि यो दिशा कायम रह्यो भने दीर्घकालीन क्षतिको शिकार इरानी राज्य होइन, बरु प्रतिबन्ध प्रणाली आफैँ हुनेछ र यससँगै पश्चिमी भू–राजनीतिक साम्राज्यवादको उपकरणको रूपमा रहेको डलरको प्रभुत्वशाली भूमिका पनि समाप्त हुनेछ । (अलजजिराबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।