काठमाडौं । विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध उच्च रकमको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि उनीहरूविरुद्ध कुल ६८ करोड ९४ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै विशेष अदालतमा अभियोग दर्ता गरिएको हो । विभागका अनुसार सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहेका विकल पौडेल ले आफ्नो पदको दुरुपयोग गर्दै अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको र त्यसबाट आर्जित रकमलाई वैध देखाउने प्रयास गरेको आरोप छ ।
अनुसन्धानले यस्तो गतिविधिमा उनकी पत्नी एलिना बस्नेत को पनि संलग्नता देखाएको विभागको दाबी छ । राजस्व अनुसन्धान विभाग ले लामो समयको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलमार्फत मुद्दा अघि बढाइएको हो । विभागले प्रारम्भिक रूपमा ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो निर्धारण गरेको थियो । पछि थप प्रमाण र वित्तीय कारोबारको विश्लेषणपछि कुल बिगो दाबी बढाएर ६८ करोड ९४ लाख रुपैयाँ पुर्याइएको हो ।
मुद्दामा विकल पौडेलमाथि ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र एलिना बस्नेतमाथि ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा बिगो कायम गरिएको छ । विभागले उनीहरूले अवैध रूपमा विदेशी मुद्रा कारोबार गरेर ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको र त्यसलाई वैध बनाउने प्रयास स्वरूप विभिन्न वित्तीय लेनदेन तथा सम्पत्ति खरिद–बिक्री गरेको आरोप लगाएको छ । यसअघि पनि उनीहरूविरुद्ध विदेशी विनिमयसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर भइसकेको थियो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा पहिलोपटक मुद्दा दायर गरिएको थियो । त्यसपछिको थप अनुसन्धानले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित थप प्रमाण फेला परेको विभागले जनाएको छ । अनुसन्धानका क्रममा बैंकिङ कारोबार, विदेशी मुद्रा विनिमय, सम्पत्ति खरिद–बिक्री तथा अन्य वित्तीय गतिविधिको विस्तृत अध्ययन गरिएको थियो । त्यसबाट अवैध रूपमा आर्जित रकम विभिन्न माध्यम प्रयोग गरेर घुमाइफिराइ गरिएको र वैध आम्दानीका रूपमा देखाउन खोजिएको निष्कर्ष विभागले निकालेको छ । विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत मुद्दा दायर गर्दै कडा सजायको माग गरेको छ ।
ऐनको दफा ३० अनुसार बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरताअनुसार कैद सजाय माग गरिएको छ । साथै, अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्नुपर्ने माग पनि अभियोगपत्रमा समावेश गरिएको छ । यो मुद्दा आर्थिक अपराधको दृष्टिले उच्च महत्वको रूपमा हेरिएको छ । पछिल्लो समय नेपालमा विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी घटनाहरू बढ्दै गएकाले नियामक निकायहरूले कडाइ गर्ने संकेत दिएका छन् । विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिहरू संलग्न हुने यस्ता घटनाले सुशासन र पारदर्शितामाथि प्रश्न उठाउने गरेको छ ।
विज्ञहरूका अनुसार विदेशी विनिमय अपचलनले देशको आर्थिक प्रणालीमा प्रत्यक्ष असर पार्छ । यसले विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणाली र समग्र आर्थिक स्थायित्वमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणले अवैध आम्दानीलाई वैध बनाउने प्रक्रियालाई संस्थागत बनाउने जोखिम रहन्छ, जसले भ्रष्टाचार र आर्थिक अपराधलाई प्रोत्साहन दिन सक्छ । यस प्रकरणमा अदालतको अन्तिम फैसला कस्तो आउँछ भन्ने चासो व्यापक रूपमा बढेको छ । यदि आरोप प्रमाणित भएमा यो मुद्दा नेपालमा आर्थिक अपराध नियन्त्रणका लागि एक महत्वपूर्ण नजिर बन्न सक्ने कानुनी जानकारहरू बताउँछन् । सरकारले पछिल्लो समय आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै अनुसन्धान तथा अभियोजनलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा विकल पौडेल दम्पतीविरुद्ध दायर भएको यो मुद्दा आगामी दिनमा यस्ता अपराधविरुद्ध कडाइको संकेतका रूपमा हेरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























