यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको निर्देशन

यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवं संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण र कान्ति बाल अस्पतालमा एकजना ५ वर्षीया बालिकाको मृत्यु भएको घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले यी घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि उनले यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

सभामुख घिमिरेले भने, ‘कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरू छन्। यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु।’

बैठकमा सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।