काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग घोटाला प्रकरणमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उदयपुर सिमेन्ट उद्योगमा क्लिङकरमा करिब साढे ४६ करोड रुपैयाँ बराबरको हिनामिना भएको दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश प्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख संजय कुमार लालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी, बिक्री विभाग प्रमुख राम बहादुर जी.सी.ले ४६ करोड, ५२ लाख ७४ हजार ४२६ रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।
आयोगले तत्कालीन महाप्रबन्धक पौडेल, नायव महाप्रबन्धक काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २ सय ४२ बिगो माग दाबी गरेको छ । यस्तै तत्कालीन निमित्त महाप्रबन्धक साह, उत्पादन महाशाखा प्रमुख लाल, भण्डार महाशाखा प्रमुख साह, क्लिङकर उत्पादन विभाग प्रमुख पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख अधिकारी, बिक्री विभाग प्रमुख जी.सी.सहितलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ बिगो दाबी गरेको छ ।
सिमेन्ट उद्योगमा सिमेन्ट अनियमितता भएको भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदनबाट देखिएको तथा उक्त ब्यहोरा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनबाट समेत देखिएको, क्लिङकरको खपत बढी तर उत्पादन कम देखिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियारको अभियोगपत्र प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखेर कागजी रेकर्डमा क्लिङकरको मौज्दात बढी देखाउने तर वास्तविक भण्डारणमा कम राख्ने गरेको उल्लेख छ । क्लिङकर र चुनढुङ्गाको उत्पादन अनुपात सामान्यतया ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्टमा उक्त अनुपात घटेर ०.६४९ सम्म पुगेको जनाइएको छ ।
अख्तियारका अनुसार आ.व. २०७४/०७५ : १,१२९ मेट्रिक टन (बिगो रु. १ करोड १४ लाख), आ.व. २०७५/०७६ : १०,२९० मेट्रिक टन (बिगो रु. ११ करोड ३३ लाख), आ.व. २०७६/०७७ : १,३२५ मेट्रिक टन (बिगो रु. १ करोड ६२ लाख), आ.व. २०७७ साउन–पुस : २६,११५ मेट्रिक टन (बिगो रु. ३२ करोड ४३ लाख) हिनामिना भएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




























