नारी स्वाभिमानको पक्षमा ‘बोरा’ उपन्यास

नारी स्वाभिमानको पक्षमा ‘बोरा’ उपन्यास

पेसाले पत्रकार भए पनि अखण्ड भण्डारी समकालीन समयका उम्दा लेखक हुन् । उनका २ उपन्यास ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ले नेपाली समाजको साङ्गोपाङ्गो व्याख्या गर्छन् । लामो समय पत्रकारिता गरेका भण्डारीको भाषा साहित्यको रंगले लत्पतिएको पाइन्छ । सरल वाक्य, गहिरा अनुच्छेद अनि एउटा सिङ्गो उपन्यासभित्र जीवनका यावत् पक्षलाई लेख्न सक्नु भण्डारीको लेखकीय विशेषता हो ।

निश्चय नै ‘समाचारको भाषा’ नामक पुस्तकका समेत लेखक अखण्ड भण्डारीको साहित्यिक भाषा सरल भईकन पनि सरस लाग्छ । उनी मानवीय भोगाइको रंगलाई साहित्यमा घोल्दै समयको क्यानभासमा जीवनको मार्मिक चित्र कोर्छन् । बोरा उपन्यास पढेपछि जोकोही कठोर मनका भएका मानिसका पनि मन रसाउँछ । जो कोहीलाई भावुक बनाउँछ, यस उपन्यासले । आजको युगलाई नवउदारीकरणको युग भनिन्छ । यस व्यस्त युगमा सन्तान र अभिभावकको सम्बन्धमा दरार आइरहेको छ । यो जटिल समयमा आएको बोरा उपन्यास पढ्दा जोकोही छोराछोरीका पनि आँखा रसाउँछन् । यस हिसाबले उपन्यासकारको प्रयास सार्थक लाग्छ । भण्डारीको शानदार लेखनीले औपन्यासिक वृत्तमा ‘बोरा’ उपन्यासलाई लामो समय पढिनेछ ।

सामाजिक यथार्थलाई समात्दै सामाजिक विसंगतिको कथालाई हृदयस्पर्शी ढंगले बुनिएको उपन्यास हो, बोरा । बोरा उपन्यासले गम्भीर पाठकदेखि भर्खरै साहित्य पढिरहेका युवाहरूलाई समेत तानिरहन सक्छ । ठूलो आकार उपन्यास भईकन पनि यस उपन्यासले मलाई सुरुदेखि अन्त्यसम्म तानिरहयो । मलाई लाग्छ, सबै धेरैलाई यस उपन्यासको सरल भाषा र प्रस्तुतीकरणले छुन्छ । पात्रका चरित्र चित्रणले पाठकमन भावुक हुँदै जान्छ । बेला–बेला आँखाबाट आँसु खसिहाल्छ पनि । एउटा बेग्लै प्रयोग कसीमा छ, यो उपन्यास । म जस्तो भर्खर–भर्खर साहित्य पढिरहेको विद्यार्थीलाई समेत गहिरो प्रभाव छोड्न सक्ने प्रस्तुत उपन्यास आमाहरू पढे भने उनीहरू अवश्य रुनेछन् । किनकि त्यो युगको पीडा भोग्ने आमाहरू नै हुन् । हुन त आमाहरूको नियति अहिले पनि कहाँ फेरिएको छ र ?

तत्कालीन दरबार हाईस्कूलका प्रधानाध्यापक रुद्रराज पाण्डेद्वारा लिखित ‘रुपमती’ उपन्यासलाई पहिलो आधुनिक नेपाली उपन्यास मानिन्छ । पाण्डेको यो उपन्यासकोे प्रकाशन १९९७ मै भएको हो । रुपमती उपन्यासमै नारी पात्रलाई आदर्शको रूपमा उभ्याएको छ । रुपमतीदेखि बोरा उपन्याससम्म आइपुग्दा नेपाली उपन्यास क्षेत्रमा विधा, धारा, प्रवृत्तिमा अनेकौं प्रयोगहरू जन्मिएका छन् । रुपमती उपन्यासकी मूल पात्र रुपमती समाजको आदर्श बचाउन खोजिरहेकी छिन् भने अखण्ड भण्डारीको उपन्यासकी मुख्य पात्र यमुना भने बाध्यताले, कहरले वा पीडाले समाज र परिस्थितिसँग विद्रोह गर्न बाध्य छिन् । यो पछिल्लो सामाजिक र राजनीति परिवेशसँगै बनेको उपन्यास चेतना पनि हो ।

भण्डारीको उपन्यास फराकिलो क्यानभास र समयमा फैलिएको छ् । झण्डै सय वर्ष वरिपरिको कथालाई समात्दै कथा समकालसम्म आइपुगेर टुङ्गिन्छ । कथानकमा ४–५ पुस्ता नै आएका छन् । यहाँ कथानकबारे यथेष्ट चर्चा सम्भव छैन । उपन्यास ४७१ पृष्ठमा पुगेर मात्र समाप्त हुन्छ । यहाँ कथाका डोबबारे संक्षिप्त चर्चा गर्नु उपयुक्त ठान्दछु ।

प्रस्तुत उपन्यासकी नायिका वा मुख्य पात्रको रूपमा उपन्यासकारले यमुनालाई उभ्याउन खोजेका छन् । जीवनमा थुप्रै ऊर्जाशील समय हण्डर–ठक्कर र सास्ती भोगेकी यमुनाको चरित्र हक्की लाग्छ । उनी साहस र आँट भएकी उत्तिकै ऊर्जाशील नारी लाग्छिन् । युग चेतनाको हिसाबले पनि उनीमा संघर्ष गर्नुपर्छ भन्ने चेतना अब्बल देखिएको छ । यमुनाका मावली हजुरबुबा मुरलीधर त्यो समय प्रगतिशील मान्छे हुन् । तत्कालीन समयमा उनी पनि नारी शिक्षाको पक्षमा उभिएका छन् । उनी नारी जातिको सम्मानमा उभिन सक्ने त्यो समयको थोरै मान्छेमध्ये एक थिए । उनै हजुरबुवाको प्रेरणाले त्यो समयमा पनि यमुनाले पढ्न पाएकी थिइन् ।

यमुनाकी आमा जमुनाको जीवनमा पनि हजुरबाकै जस्तो निर्भिकता कायम थियो । यमुनाका बुवा अर्थात् जमुनाका श्रीमान् कमलीकान्तमा भने तत्कालीन ठूलाबडामा देखिने दम्भ, फुर्तीफार्ती र घमण्ड प्रबल थियो । उनी यस उपन्यासको खलपात्रको रूपमा रहेका छन् । जीवनमा ज–जसले यमुनालाई साथ दिए, बिस्तारै ती पात्र यमुनाले जीवनबाट गुमाउनुपरेको छ । युमना जस्तै बज्रपातमा पनि सतिसालझैं उभिन सकेकी छिन् । यमुनाका लोग्ने हुन् रुद्र । रुद्रले यमुनालाई प्रारम्भमा प्रेम गरेका छन्, अन्ततः धोका दिएका छन् । निकै लामो कालखण्डको वर्णन भएको प्रस्तुत कृतिमा उपन्यासकारले धेरै कुराहरूलाइ समेट्ने जमर्को गरेका छन्, यो जमर्को सार्थक देखिन्छ ।

आमा जमुनाको निधन भएपछि बुवालाई खोज्दै यमुना आफ्नो थातथलो आइपुग्छिन् । बुवाबाट कुनै साथ पाउँदिनन् । पहिला नै पनि खराब नक्षेत्र (मूल नक्षत्र) जन्मेको आरोपबाट आरोपित भएकै थिइन् यमुना । बुवाबाट माया पाउने आशै पनि थिएन । घरमा पुगेपछि सानी आमा मुनासँग उनको भेट हुन्छ । सानीआमा यमुनालाई आफ्नो मनको बह सुनाउँछिन् । तर यमुनालाई सानीमाले षड्यन्त्र गरेझैं लाग्छ । सानीआमाका कुराहरू उनलाई बनावटी लाग्छन्, षड्यन्त्र लाग्छन् । सानिमा यमुनालाई लोग्नेको कारण धेरै पीडित भएको र सास्ती भोग्नुपरेको कहर सुनाउँछिन् तर यमुनालाई पत्यार लाग्दैन । सौतेनी आमा हुन्, उनले सही कुरा गर्लिन् र भनेर यमुनालाई अविश्वास पैदा भएको देखिन्छ ।

त्यहीँबिच अचानक एउटा घटना घट्छ । १ जना भारतबाट आएका कथित बावा भनिने मान्छेमार्फत बुबाले षड्यन्त्र गर्दैछन् भन्ने आशंकापछि सानिमा र यमुना दुवै घर छोडेर भाग्छन् । रातको समय डरलाग्दो जंगल, खोंच, पहिरो, नदी पार गर्दै र भाग्दै टाढा पुग्छन् । झापा नजिकको एक नदीकिनार र जंगलछेउमा उनीहरू छाप्रो हाली बस्न थाल्छन् । त्यसपछि सानिमाले यमुनालाई धेरै प्यार गर्छिन् । सारा ममताको भण्डारझैं लाग्छिन्, उनलाई पनि सानिमा मुना । सानिमाले दाउरा बेचेर भए पनि विद्यालय भर्ना गरिदिन्छिन् । उनले थोरै पढाइ त उनले मामाघरमै गरेको थिइन् । यता आएर पनि पढ्ने अवसर पाउँछिन् ।

त्यस भेगमा मुना सानिमा होइन, यमुनाको आमाकै रूपमा चिनिन्छिन् । आखिर आमा जमुनाबाट पनि यमुनाले धेरै माया पनि पाएकी पनि थिइन् । फेरि मुनाको ममताको कुनै आमाको भन्दा कम थिएन । सानिमाको ममता यतिसम्म हुन्छ कि किशोरावस्थामा पुगिसकेकी छोरीलाई खोला तराउँदा पनि काँधमा बोकेर तार्छिन् । माया, ममताका साथ र समर्पणभावमा कुनै कमी हुन दिँदिनन् । मुना चरित्र पनि त्यो युगको युगीन र संघर्षमार्फत बनेको चरित्र हो ।

उपन्यासकार यहाँनेर आइपुगेर नारीहरूलाई ममतामयी मात्र ठान्दैनन्, नारीहरू हरेक परिस्थितिमा संघर्षका लागि लायक छन् भन्ने विचारलाई पात्रमार्फत देखाउँछन् । नेपाली उपन्यास क्षेत्रमा यो खालको चरित्र निर्माणलाई सकारात्मक नै मान्नुपर्छ । मलाई यो चरित्र निर्माण निकै सुझबुझपूर्ण लाग्यो । विद्यालय पढ्ने बेला नै मेधावी र जेहेन्दार छात्र लाग्छन् रुद्र । विस्तारै रुद्रसँग यमुनाको माया बस्छ । रुद्र धनी मामाको भान्जा । मामाघरमा बसेर पढिरहेको हुन्छ । जहाँ यमुना सानिमा मुना (भावनाले आमा नै) दाउरा बेच्न जान्छिन् । यता विद्यालयमै पढ्दा र खाजा निहुँमा रुद्र र यमुनाले प्रीतिको बाटो रोजिसकेका हुन्छन् ।

रुद्र आफूले ल्याएको खाजा यमुनासँगै चौरमा बसेर खान्छ र मनको कुरा पोख्छ । प्रेमपत्र लेख्छ । प्रेमिल भावना पोख्छ । रुद्र भन्छ मायाभन्दा धनसम्पत्ति ठूलो होइन । किशोर अवस्थाकी यमुना प्रभावित हुन्छिन् । त्यसबेलासम्म यमुनाकी सानिमा मुनाले विद्यालय छेउमा खाजा पसलसम्म थापिसकेकी हुन्छिन् । रुद्रको मामामार्फत यमुनाको बिहेको प्रसङ्ग पनि चल्छ । उपन्यासकारले यस उपन्यासमा दुःखपछि सुख अवश्य आउँछ भन्ने सूत्रलाई पछ्याएका छन् । यसैले पात्रका जीवनमा दुःखका भेल पनि आएका छन् । सुखका सङ्ग्ला नदी पनि बगेका छन् ।

मामा माइजुको सहमतिमै रुद्रले यमुनालाई बिहे गर्छ । आफ्नो घर धनकुटा लैजान्छ । धनकुटामा उनकी आमा मात्र हुन्छिन् । आमा बुहारी पाएर ज्यादै खुसी हुन्छिन् । यता सानिमा मुना त्यहीँ ठाउँका एक भद्र काकाकाकीको साथ पाएर दुःखजिलो जिन्दगी बाँचिरहेकी हुन्छिन् ।

धनकुटा पुगेपछि रुद्र शिक्षक बनेर पढाउन थाल्छ । शिक्षक हुँदै ऊ त्यहीँकी चनौटी नामको युवतीसँग बिहेत्तर सम्बन्ध गाँस्न पुग्छ । त्यतिबेलासम्म यमुना गर्भवती भइसकेकी हुन्छिन् । उता रुद्र घात–प्रतिघातमा पोख्त हुन्छ । ऊ प्रेमको अभिलाषा चनौटीको प्रेममा अभिव्यक्त गरिरहन्छ । अन्ततः चनौटीलाई बिहे गर्नुपर्ने स्थितिमा रुद्र पुग्छ ।

यमुनाको जिन्दगीमा बज्रपात परिरहन्छ । त्यतिधेरै माया र प्रेम गर्ने सासुआमाको पनि देहावसान हुन्छ । सासुआमाको देहावसानसँगै गोठको बाससमेत हुन्छ । अनि जन्मिन्छ छोरा असल । असल पनि असाध्यै असल हुन्छ । ऊ आमाको माया ममता सबै बुझ्छ । रुद्रदम्पतीले यमुनाउपर सधैं घृणा भाव नै राख्छन् । समय बित्दै जान्छ । केही हिउँद र बर्खाहरू कोशी नदीझैं बगिजान्छन् । त्यही क्रममा रुद्रले धनकुटाको गाउँमा भएको सम्पत्ति सबै बेचिसकेको हुन्छ । देखावटी मायाको भावना राख्दै तराईतिर जान रुद्रले यमुनालाई फकाउँछ । गल्ती भएको भन्दै झुटो माफी पनि मागिटोपल्छ ।

तराई पुगेपछि बल्ल पहाड सम्पत्ति रुद्रले बेचेको यमुनालाई थाहा हुन्छ । त्यहाँ रहेका मामा माइजु पनि यमुनाकै पक्षमा उभिन्छन् । तराईमा पनि रुद्र भने यमुनाउपर उस्तै पीडा दिइरहन्छ । बज्रपातको अर्को शृंखलामा यमुनाले तीर्थ गएकी प्राणप्रिय सानिमाको पनि देहावसान भएको खबर सुन्छिन् । दुनियाँमा अब उनको आफन्त भन्नु त्यही छोरा असल हुन्छ । सानिमाले चलाइरहेको खाजा पसल पनि अरूले लिइसकेको हुन्छ । यमुना भने छोरा असललाई अनेकौं हण्डर सहेर पनि असल व्यवहार र शिक्षा सिकाउँछिन् ।

एवम् रीतले नाम मात्रको यमुनाको श्रीमान रुद्रको पनि मृत्यु हुन्छ । रुद्रको मृत्युको दिन पनि यमुना मन्दिर जाने आफ्नो हठलाई कायम राख्दै मन्दिर जान्छिन् । किरियाकर्म गर्न इन्कार गर्छिन् । उनी एउटी विद्रोही पात्रको रूपमा खडा हुन्छिन् । यहीँनेर उपन्यासकारले नारी स्वाभिमानलाई एउटै बेग्लै आदर्श बनाउन खोजेका छन् । यमुनाहरूमा त्यो समयका योगमायाझैं जीवन चरित्र देखिन्छ । तर योगमायाले जलसमाधि लिएकी थिइन् भने यमुनाहरूले जीवनको गहिराइलाई बुझ्दै र दुःखलाई दुःख जस्तो नमानी जीवन नामको हजार माइलको बाटो हिँडिरहेका छन् ।

यता अनेकौं कारण देखाउँदै तत्कालीन पुरुषप्रधान समाजका अगुवाहरूले उनको ४ पाटासम्म मुड्छन् । उनी पाटी बस्न बाध्य हुन्छिन् । एउटा अबोध बालकलाई काखी च्यापेर त्यो अनकन्टार ठाउँमा उनी जीवनको लीलालाई आत्मसात् गर्छिन् । र उनको सम्बन्ध जोडिन पुग्छ, दमकका सज्जन हरिविनोदको परिवारसँग । दमकमा जग्गा जमिन थुप्रै भएका हरिविनोद प्रगतिशील स्वाभावका मान्छे हुन्छन् । उनका छोरा भगवान्‌लाई उनले बेलायतमा कानून पढ्न पठाएका हुन्छन् । भगवान् नेपाल आउँदा २०४६ सालको परिवर्तन आइसकेको हुन्छ । तर ती पुराना चालचलन र तत्कालीन मानसिकता भने फेरिएको हुँदैन । भगवान यमुना जस्ता भूइँमान्छेहरूको पक्षमा निःशुल्क कानूनी संघघर्ष गर्ने सुन्दर उद्देश्य बोकेर नेपाल आएको हुन्छ । भगवान् र हरिविनोदको सुभावनाले यमुना र छोरा असलको जीवनमा परिवर्तन आउँछ । कानूनका ज्ञाता भगवान्‌ले गरीब निमुखाविरुद्ध बलियाले गर्ने पेलाइ गर्ने चलनका विरुद्ध संघर्ष गर्छ र कानूनी रूपमा सफल पनि हुन्छ । यही मनकारी परिवारले असललाई असल शिक्षा दिन्छ र डाक्टर बन्ने बाटो खोलिदिन्छ ।

एवम् रीतले डाक्टर बन्छन् असल । शहरको एक धनीको छोरी निर्जलासँग डाक्टर असलको बिहे हुन्छ । बुहारी निर्जलालाई सासु पाखे लाग्छ । प्रेतात्मा लाग्छ । कहिले अति असहज कहिले सहज हुँदै उनीहरूको जीवन चल्छ । अनेकौं षड्यन्त्र बुन्दै हुन्छे यमुनाविरुद्ध निर्जला । त्यसपछि घट्ने घटना क्रम झनै मार्मिक लाग्छ । उपन्यासकारका अनुसार यो सत्य घटनामा आधारित उपन्यास हो । नेपाली समाजमा मानिसहरूको यो स्थिति छ भन्नु विडम्बनायुक्त यथार्थ हो ।

प्रस्तुत उपन्यासका निकै सरल भाषामा बुनिएको छ र सरस पनि उत्तिकै छ । एक नमुना अनुच्छेद हेरौं, ‘उसैको लागि संघर्ष गरें । डटेर कर्म गरें । सकेको धर्म गरें । कसैसँग भीख मागेर खाइनँ, खुवाइनँ । ज–जसले आपतमा काख दिनुभयो, सायद भगवानले पठाएका दूत हुनुहुन्थ्यो उहाँहरू । सासको अन्तिम घुटको रहेसम्म उहाँहरूको पूजा गर्नेछु, (अखण्ड भण्डारी, पृ. ३७७) ।

प्रस्तुत उपन्यासको अन्तिम भागहरू उपन्यासको मुटु हो । कसरी पुगिन् यमुना वृद्धाश्रमसम्म ? कसले फ्याँक्यो त्यो बोरा गोपीकृष्ण हलनेरको पुलमुनि ? कसरी फर्कियो यमुनाको खुसी ? यी यावत् कुरा थाहा पाउनचाहिँ उपन्यास नै पढ्नुपर्छ । यो उपन्यासले नेपाली समाजको झण्डै एक शताब्दी लामो सामाजिक जीवनको कहानी कहन्छ । त्यो कहानीमा मुख्य पात्र भएर उभिन्छन् नारीहरू । त्यो डरलाग्दो कालखण्डमा पनि निर्भिक भएर उभिएका नारीहरू देख्दा मन खुसीले मखलेल हुन पुग्दछ ।

मूलतः उपन्यासकारको उद्देश्य भनेको आमा बुबा र सन्तानबिच उभिएको पर्खाल, भावनात्मक दूरी र आर्थिक सम्बन्धहरूले पार्ने प्रभावलाई देखाउनु नै हो । तर त्यही कथा आख्यानकार भण्डारीले भन्दै गर्दा हामी नेपाली समाजको सामाजिक, सांस्कृतिक, राजनीति र आर्थिक सम्बन्धलाई पनि बुझ्न सकिन्छ । पूर्वी–नेपालको भौगोलिक परिवेशमा आख्यानकार अखण्ड भण्डारीले एउटा जीवन्त मौलिक उपन्यास दिएका छन् नेपाली साहित्यलाई । तर कतिपय ठाउँमा तत्कालीन समय दुःख, खानपिन, बोलीचाली आउनुपर्नेमा त्यसलाई आधुनिकताले प्रभावित गरेको देखिन्छ ।

उपन्यास विधाका मुख्य तत्वहरू हुन्‌– कथानक, चरित्र, संवाद, देशकाल परिस्थिति, परिवेश, भाषाशैली, उद्देश्य र दृष्टिबिन्दु । अखण्ड भण्डारीद्वारा लिखित उपन्यास ‘बोरा’मा यी तत्वहरूको आवश्यकताअनुसार प्रयोग भएका छन् । यसैले पनि विधागत हिसाबले उपन्यासलाई सफल रहेको छ । प्रस्तुत उपन्यास शानदार, भव्य र पाठकहरूका लागि गम्भीर अध्ययन सामग्री बनेको छ । नेपाली समाजलाई समाजशास्त्रीय अध्ययन गर्नेहरूले पनि प्रस्तुत उपन्यासको अध्ययन गरे, उनीहरूले अवश्य पनि समाजको दृश्य/अदृश्य चित्र बोरामा पाउनेछ ।

पाश्चात्य विद्वान् फिलिङ्गले उपन्यासको परिभाषा गर्दै भनेका छन्, ‘उपन्यास गद्यमा लेखिएको सुखान्त महाकाव्य हो ।’ जरुर अखण्ड भण्डारीको उपन्यास सुखान्त छ । यद्यपि प्रत्येक उपन्यासमा सुखान्त हुनुपर्छ भन्ने छैन । तर ‘बोरा’ जस्तै सुखान्तक उपन्यासले सुखान्त पाठकहरूलाई सकारात्मक सन्देश दिने कुरामा कुनै शंका छैन ।

प्रक्षेपण रास्ट्रिय दैनिकबाट साभार ।