काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमध्ये झन्डै आधाले हालसम्म कुनै पनि जवाफ नदिएको जनाएको छ ।
आयोगका अनुसार पटक–पटक स्पष्टीकरण माग्दा समेत सम्बन्धित पक्षले आयोगलाई टेरेका छैनन्, जसका कारण आचारसंहिता कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म कुल २३ वटा उजुरी दर्ता भएका छन् ।
ती उजुरीमध्ये १२ जना उम्मेदवार वा सम्बन्धित पक्षले मात्र आयोगलाई लिखित जवाफ पेस गरेका छन् । बाँकी ११ वटा उजुरीमा सम्बन्धित उम्मेदवार वा संस्थाबाट कुनै पनि प्रतिक्रिया प्राप्त नभएको उनले जानकारी दिए । यद्यपि ती उजुरी कस–कससँग सम्बन्धित हुन् भन्ने विवरण आयोगले सार्वजनिक गरेको छैन । प्रवक्ता भट्टराइले गोपनीयता र प्रक्रियाको कारण देखाउँदै सम्बन्धित उम्मेदवार वा दलको नाम नखुलाइएको बताए । आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता भट्टराइले बाँकी उजुरीमा सम्बन्धित पक्षबाट जवाफ आउने क्रममै रहेको हुनसक्ने उल्लेख गरे । ‘बाँकी ११ वटा उजुरीका सम्बन्धमा सम्बन्धित व्यक्ति वा संस्थाबाट जवाफ आउने क्रममा रहेका होलान्,’ उनले भने, ‘तर समयमै जवाफ नआए थप प्रक्रिया अघि बढाइनेछ।’
निर्वाचन आयोगले विगतमा स्पष्टीकरण मात्र सोध्ने तर ठोस कारबाही नगर्ने गरेको गुनासो व्यापक रूपमा उठ्दै आएको सन्दर्भमा यसपटक त्यस्तो आलोचना चिर्ने गरी काम गरिने प्रवक्ता भट्टराइले बताए । ‘आयोगले स्पष्टीकरण मात्रै माग्छ, तर कारबाही गर्दैन भन्ने कुरा पनि आइरहन्छ,’ उनले भने, ‘त्यसलाई चिर्न यस पटक गम्भीर रूपमा अध्ययन गरेर निर्णय गरिन्छ ।’ उनका अनुसार आयोगले प्राप्त भएका उजुरी र अझै जवाफ नआएका उजुरीहरूको अध्ययनका लागि छुट्टै कार्यदल गठन गरेको छ । सो कार्यदलले उजुरीको प्रकृति, प्रमाण, आचारसंहिता उल्लंघनको गम्भीरता र प्राप्त जवाफको आधारमा कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा सिफारिस गर्नेछ । कार्यदलको सिफारिसका आधारमा आयोगले ठोस निर्णय लिने उनले स्पष्ट पारे । आयोगका अधिकारीहरूका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमा सरकारी साधनको दुरुपयोग, प्रचार–प्रसारमा तोकिएको सीमा नाघेको, पदाधिकारीको दुरुपयोग, तथा निषेधित गतिविधिमा संलग्न भएको आरोपहरू समावेश छन् । यस्ता गतिविधिले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि असर पर्ने भएकाले आयोगले कडाइका साथ अनुगमन गरिरहेको जनाएको छ ।
निर्वाचन आयोगले समयमै जवाफ नदिने उम्मेदवार वा संस्थामाथि आवश्यक परे कानुनबमोजिम कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ । आयोगका अनुसार आचारसंहिता पालना गराउन आयोग मात्र होइन, उम्मेदवार, राजनीतिक दल र सम्बन्धित सबै पक्षको समान जिम्मेवारी रहनेछ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको कडाइका साथ पालना गराउन आयोग प्रतिबद्ध रहेको प्रवक्ता भट्टराइले दोहोर्याए । उनले सबै उम्मेदवार र राजनीतिक दललाई आयोगसँग सहकार्य गर्न र समयमै स्पष्टीकरण बुझाउन आग्रहसमेत गरे ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




























