काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार सापटी मागेको छ । निर्वाचन अवधिभर प्रयोग गर्ने गरी जङ्गी अड्डासँग २८ सय थान पेस्तोल माग गरिएको हो । निर्वाचन सम्पन्न भएपछि ती हतियार सेनालाई फिर्ता गरिने प्रहरीले जनाएको छ । प्रहरीका एक उच्च अधिकृतका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन थप हतियार आवश्यक परेकाले सेनासँग सापटी माग गरिएको हो । “निर्वाचनका बेला सुरक्षाकर्मीको संख्या बढ्ने र संवेदनशील क्षेत्रमा अतिरिक्त सतर्कता अपनाउनुपर्ने हुन्छ,” ती अधिकृतले भने, “त्यसका लागि सेनासँग साना हतियार माग गरिएको हो ।”
प्रहरीको मागअनुसार नेपाली सेनाले २८ सय थान पेस्तोल उपलब्ध गराउने निर्णय गरिसकेको छ । ती हतियार निर्वाचन सुरक्षामा मात्र प्रयोग गरिने र निर्वाचन सकिएलगत्तै औपचारिक प्रक्रिया पूरा गरी फिर्ता गरिने जनाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशहरूमा पठाइनेछ र आवश्यकता तथा जोखिम मूल्याङ्कनका आधारमा प्रयोग गरिनेछ ।
प्रहरी स्रोतका अनुसार निर्वाचन सुरक्षाका क्रममा मतदान केन्द्र, मतगणना स्थल, उम्मेदवार, राजनीतिक दलका गतिविधि तथा संवेदनशील क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई हतियार उपलब्ध गराइन्छ । नियमित सेवाका लागि उपलब्ध हतियारले निर्वाचन सुरक्षाको सबै आवश्यकता नपुग्ने भएकाले विगतदेखि नै सेनासँग समन्वय गरेर हतियार सापटी लिँदै आएको प्रहरीको भनाइ छ ।
यसअघि पनि नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनासँग हतियार सापटी लिएको उदाहरण छ । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रहरीले ‘बालगिरी’स्थित सैनिक भण्डारबाट २८ सय थान हतियार लिएर निर्वाचन सुरक्षामा प्रयोग गरेको थियो । त्यसबेला पनि निर्वाचनपछि सबै हतियार नियमानुसार सेनालाई फिर्ता गरिएको थियो ।त्यसैगरी, २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा समेत प्रहरीले सेनासँग चिनियाँ पेस्तोल सापटी लिएको थियो । प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार निर्वाचन सुरक्षाका क्रममा हतियार सापटी लिने अभ्यास नयाँ नभई नियमित प्रक्रिया जस्तै भइसकेको छ ।
निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेसँगै सुरक्षा निकायहरू तयारीमा जुटेका छन् । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, प्रचार–प्रसार, मतदान, मतगणना र नतिजा सार्वजनिक गर्ने सम्पूर्ण चरणमा सुरक्षा संवेदनशील रहने भएकाले बहुआयामिक सुरक्षा योजना बनाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वय गरी त्रिस्तरीय सुरक्षा व्यवस्था लागू गरिनेछ । निर्वाचन अवधिभर नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर सुरक्षा सम्हाल्ने, सशस्त्र प्रहरीले सहयोगी भूमिका निर्वाह गर्ने र आवश्यकता परेमा नेपाली सेना ब्याकअप सुरक्षाका रूपमा रहने व्यवस्था गरिएको छ । सुरक्षा विश्लेषकहरूका अनुसार निर्वाचनजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा पर्याप्त सुरक्षा सामग्री र जनशक्ति व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ । विगतका निर्वाचनमा देखिएका हिंसा, विवाद र अवाञ्छित गतिविधिबाट पाठ सिक्दै यसपटक सुरक्षामा थप कडाइ गरिन लागेको उनीहरूको भनाइ छ ।
प्रहरी अधिकारीहरूका अनुसार सेनासँग सापटी लिइने हतियार प्रयोग गर्ने प्रहरीलाई विशेष तालिम र निर्देशन दिइनेछ । हतियारको प्रयोग कानुन, आवश्यकताको सिद्धान्त र मानव अधिकारको मापदण्डभित्र रहेर मात्र गरिने प्रहरीको दाबी छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा निकायहरू उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । आयोग, सुरक्षा निकाय र प्रशासनबीचको समन्वयले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।


























