मन्जन र सौन्दर्य सामग्रीमा घातक सिसा, जनस्वास्थ्यमा गम्भीर जोखिम

मन्जन र सौन्दर्य सामग्रीमा घातक सिसा, जनस्वास्थ्यमा गम्भीर जोखिम

काठमाडौं । दैनिक व्यक्तिगत सरसफाइ र सौन्दर्यका लागि प्रयोग हुने टुथपेस्ट, सिन्दूर, गाजल, लिपिस्टिकजस्ता सामग्रीमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने सिसा (लिड)को मात्रा अत्यधिक रहेको तथ्य सार्वजनिक भएको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड)ले गरेको एक विस्तृत सिम्बोलिक अध्ययनले बजारमा खुलेआम बिक्री भइरहेका यस्ता सामग्री उपभोक्ताको स्वास्थ्यका लागि गम्भीर खतरा बन्दै गएको देखाएको हो । सेपेडले ‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को प्राविधिक तथा आर्थिक सहयोगमा उक्त अध्ययन गरेको हो ।

अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलबाट संकलन गरिएका १०० वटा नमुना (३१ टुथपेस्ट, ४० सिन्दूर र २९ गाजल) प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस) विधि प्रयोग गरिएको सेपेडले जनाएको छ । अध्ययनको नतिजाअनुसार परीक्षण गरिएका कुल नमुनामध्ये ३१ प्रतिशतमा सिसाको मात्रा अत्यधिक पाइएको छ । सिसा भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएमको सीमा पार गरेका छन् भने ७७ प्रतिशत नमुनाले अमेरिका र क्यानडाले निर्धारण गरेको १ पीपीएमको मापदण्डसमेत उल्लङ्घन गरेका छन् । नेपालमा सौन्दर्य सामग्रीका लागि स्वेच्छिकरूपमा तोकिएको १० पीपीएमको मापदण्ड पनि ५१ प्रतिशत नमुनाले नाघेको अध्ययनले देखाएको छ ।

उत्पादनअनुसार हेर्दा सिन्दूर सबैभन्दा उच्च जोखिमयुक्त सामग्रीका रूपमा देखिएको छ । परीक्षण गरिएका सिन्दूरमध्ये ४० प्रतिशत नमुनामा सिसा भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म सिसाको मात्रा पाइएको छ । टुथपेस्टका ४५ प्रतिशत नमुनामा पनि सिसा भेटिएको छ, जसमा बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही ब्रान्डसमेत परेका छन् । गाजलमा सिसाको मात्रा तुलनात्मक रूपमा कम देखिए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसको जोखिम झनै गम्भीर रहेको अध्ययनमा उल्लेख छ । चार सहरमध्ये काठमाडौँ उपत्यकामा संकलन गरिएका नमुनामा सिसाको मात्रा सबैभन्दा बढी भेटिएको सेपेडको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनले “हर्बल” वा “प्राकृतिक” भनेर प्रचार गरिने उत्पादनहरू समेत सिसाबाट पूर्ण रूपमा सुरक्षित नरहेको तथ्य उजागर गरेको छ । परीक्षणमा पेप्सोडेन्ट, कोलगेट, दन्तकान्ति, क्लोजअप, डाबर रेडजस्ता टुथपेस्ट ब्रान्डमा सिसाको मात्रा पाइएको छ । त्यसैगरी पतञ्जली ब्रान्डको गाजलमा पनि सिसाको मात्रा भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार बालबालिकाको शरीरमा सिसा प्रवेश गर्दा बौद्धिक क्षमता (आईक्यू) घट्ने, सिकाइमा समस्या आउने, ध्यान अभाव (एडीएचडी) जस्ता व्यवहारिक समस्या देखिने जोखिम उच्च हुन्छ । दीर्घकालीन रूपमा सिसाको अत्यधिक सम्पर्क हुँदा दृष्टि र श्रवण क्षमतामा ह्रास, स्नायु प्रणालीमा असर तथा शैक्षिक उपलब्धि कमजोर हुने सम्भावना समेत बढ्ने गर्छ । गर्भवती तथा प्रजनन उमेरका महिलामा सिसाको असर अझ गम्भीर हुने जनस्वास्थ्य विज्ञहरूको चेतावनी छ । सेपेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले अध्ययनका नतिजाले गम्भीर अवस्था देखाएको बताए । “हामीले गरेको सिम्बोलिक अध्ययनमा दैनिक प्रयोग हुने सरसफाइ र सौन्दर्य सामग्रीमै अत्यधिक सिसा भेटिएको छ,” उनले भने, “यदि यसलाई समयमै नियन्त्रण र न्यूनीकरण गर्न सकिएन भने भविष्यमा मानव स्वास्थ्यमा ठूलो असर पर्न सक्छ ।” हालसम्म सौन्दर्य सामग्री तथा केही व्यक्तिगत सरसफाइका वस्तु औषधिजन्य सामग्रीका रूपमा कानुनमा समेटिन नसक्दा गुणस्तर परीक्षण र नियमन चुनौतीपूर्ण बनेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार छिट्टै औषधि ऐन संशोधन गरेर यस्ता सामग्रीलाई पनि औषधिजन्य सामग्रीको दायरामा ल्याउने तयारी भइरहेको छ । “मानव स्वास्थ्यलाई हानी गर्ने रसायन रहेको तथ्य यस्ता अध्ययनबाट पुष्टि हुँदै गएको छ,” उनले भने, “त्यसैले कानुनी व्यवस्था संशोधन गरी गुणस्तर मापन गर्ने तयारीमा छौँ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले बजारमा पाइने यस्ता सामग्रीमाथि कडाइका साथ निगरानी आवश्यक रहेको बताए । “दैनिक प्रयोग हुने सामग्रीमै विषाक्त पदार्थ भेटिनु गम्भीर विषय हो,” उनले भने, “यसमा अझ विस्तृत अनुसन्धान गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्छ ।” विश्व स्वास्थ्य संगठनले सिसाको कुनै पनि मात्रा मानव स्वास्थ्यका लागि सुरक्षित नहुने स्पष्ट गरिसकेको छ । अध्ययनले उपभोक्तालाई सामग्री खरिद गर्दा ‘लिड फ्री’ लेबल भएको उत्पादन छनोट गर्न, शिशुमा परम्परागत रूपमा गाजल लगाउने अभ्यास घटाउन तथा उत्पादक र विज्ञापनकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।