प्रचण्डको स्वीकारोक्तिले दिएको सन्देश

प्रचण्डको स्वीकारोक्तिले दिएको सन्देश

नेपाली राजनीतिका कुरा फेरबदल गरिराख्ने पात्रका रूपमा चिनिने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा भिडियो सन्देश जारी गर्दै आत्मसमीक्षा गरेका छन् ।

‘मैले सबै गुमाइसकेँ, अब खलनायक बनेर इतिहासमा हराउन चाहन्नँ’ भन्ने उनको आत्मस्वीकारोक्तिमा एकातिर जीवनका व्यक्तिगत वियोगहरूको पीडा झल्किएको छ भने अर्कोतिर आफ्नो खस्किँदो राजनीतिक साख जोगाउने अन्तिम कसरत देखिन्छ । त्यो सन्देश केवल एउटा नेताको भावना मात्र नभई बदलिँदो नेपाली राजनीतिको ऐना पनि हो ।

संयोजक प्रचण्डले आफूलाई नायकका रूपमा स्थापित गर्न विश्राम नलिने जुन अठोट व्यक्त गरेका छन्, त्यसले उनीभित्रको अस्तित्वको लडाइँलाई उजागर गर्छ । हलिउडको चर्चित संवादको सहारा लिँदै उनले आफू धेरै अघि बिदा भएको भए नायक नै रहन्थेँ होला भन्ने जुन संकेत गरे, त्यसले उनी स्वयं आफ्नो पछिल्लो राजनीतिक यात्रा र सत्ता समीकरणको खेलबाट सन्तुष्ट छैनन् भन्ने प्रस्ट पार्छ । १० वर्षे सशस्त्र युद्धको सुप्रिम कमाण्डरदेखि शान्ति प्रक्रियाको प्रमुख सहजकर्तासम्मको यात्रामा उनले आर्जन गरेको ‘लिगेसी’ पछिल्ला वर्षहरूमा सत्ताको अंकगणित र भागबण्डामा अल्झिएर धुमिल भएको सत्यलाई उनले ढिलो गरी भए पनि स्वीकार गरेका छन् ।

सन्देशको सबैभन्दा भावुक पक्ष उनको व्यक्तिगत जीवनको क्षति हो । आफ्नै अगाडि छोरी ज्ञानु, छोरा प्रकाश र जीवनसंगिनी सीता दाहाललाई गुमाउनु पर्दाको पीडालाई उनले हजारौँ सहयोद्धा र शहीदहरूको बलिदानसँग जोडेर सहानुभूति बटुल्ने प्रयास गरेका छन् । ‘एउटा मान्छेले जीवनमा जेजति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ’ भन्ने उनको भनाइले उनी अब कुनै व्यक्तिगत स्वार्थ वा पारिवारिक मोहमा नरहेको सन्देश दिन खोजेका छन् । यो अभिव्यक्ति भावनात्मक ‘कार्ड’ जस्तो देखिए पनि उनले चुनावको मुखमा अब आफू राजनीतिक जीवनको उत्तराद्र्धमा शुद्धीकरणको मार्गमा लाग्न खोजेको सन्देश दिन खोजेका छन् ।

प्रचण्डले युवा पुस्ताले उठाएका भ्रष्टाचारको अन्त्य र पारदर्शिताका एजेन्डालाई आफ्नै एजेन्डा दाबी गर्दै आफूलाई पुराना नेताहरूको भिडबाट अलग देखाउने प्रयास गरेका छन् । ‘म अरू जस्तो सत्ता भागबण्डाको सम्झौतामा सहभागी हुन चाहन्नँ’ भन्ने उनको दाबी विगतको उनको राजनीतिक आचरणसँग मेल खाँदैन । किनकि नेपाली राजनीतिमा सत्ता फेरबदल र समीकरण निर्माणका किङमेकरका रूपमा उनैले सबैभन्दा बढी भागबण्डाको राजनीति गरेको आरोप खेप्दै आएका छन् ।

त्यसैले ‘म फरक छु र यो प्रमाणित गरेरै छाड्नेछु’ भन्ने उनको वाचालाई जनताले कति विश्वास गर्छन् भन्ने कुरा उनको आगामी व्यवहारले नै तय गर्नेछ ।
डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमबाट जोगिन उनले गरेको अपिल अहिले उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरूप्रतिको सांकेतिक प्रहार हो । आफूलाई नयाँ विचारका लागि खुला देखाउँदै गर्दा उनले अनुभव र इतिहासको महत्वलाई बिर्सिन नहुने तर्क गरेका छन् । यसले के देखाउँछ भने प्रचण्ड नयाँ पुस्ताको ऊर्जा र आफ्नो अनुभवको फ्युजन गरेर अगाडि बढ्न चाहन्छन् ।

उनले आफ्ना कमजोरी र इतिहासको कठघरामा उभिनुपर्ने अवस्थालाई स्वीकार गरेका छन् । तर इतिहासले उनलाई नायक मान्छ वा खलनायक ? त्यो उनको भावनाले होइन, उनले बाँकी रहेको राजनीतिक जीवनमा गर्ने सुशासनको अभ्यास र जनताको जीवनस्तरमा ल्याउने परिवर्तनले निर्धारण गर्नेछ । उनले भनेझै राजनीतिक निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ । निर्वाचनको मुखमा आएको उनको स्वीकारोक्तिले जनताको मन कति पगाल्छ, त्यो फागुन २१ गतेको परिणामले देखाउने नै छ ।

मिति २०८२ माघ २० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।