गत ३० जनवरीमा सुनको मूल्यमा १२ प्रतिशत र चाँदीमा २६ प्रतिशतको गिरावट दर्ता गरियो भने प्लेटिनमको मूल्य १८ प्रतिशतले घट्यो । सुन र चाँदीको मूल्यमा लगातार भइरहेको बढोत्तरी शुक्रबार ठूलो गिरावटसँगै थामिएको छ ।
३० जनवरीमा सुनको मूल्यमा १२ प्रतिशत र चाँदीमा २६ प्रतिशतको गिरावट देखियो भने प्लेटिनममा १८ प्रतिशतको गिरावट आयो । यसभन्दा अगाडिको वृद्धिको लहरले दुवै धातुको मूल्यलाई ऐतिहासिक रूपमा उच्च स्थानमा पुर्याएको थियो ।
बेलायतको लगानी बैंक प्यानम्योर लिबेरमका कमोडिटी विश्लेषक टम प्राइसले फाइनान्सियल टाईम्ससँग भने, ‘यो बजार शिखरमा पुगेपछि देखिने एउटा क्लासिक व्यवहार हो । अहिले बजारमा भ्रम र अनिश्चितता छ । हरेक व्यक्ति स्पष्टताको खोजीमा छन् ।’ ट्रेडिङ सेवासँग आबद्ध समूह एमकेएस प्याम्पकी विश्लेषक निक्की शील्सले बिहीबार र शुक्रबार भएका यी तीव्र उतारचढावहरू महिनाको अन्त्यमा आएको बताउँदै यसलाई बहुमूल्य धातुको इतिहासकै सबैभन्दा अस्थिर महिना भन्न सकिने उल्लेख गरिन् ।
भेनेजुएलादेखि ग्रीनल्याण्ड र इरानसम्मको वैश्विक उथलपुथल र अमेरिकी राष्ट्रपति ट्रम्पको अनिश्चिततालाई लिएर बढ्दो चिन्ताले लगानीकर्ताहरूलाई बहुमूल्य धातुको शरण लिन बाध्य बनाएको थियो । शील्सले भनिन्, ‘अकल्पनीय घटनाहरू दिनहुँ भइरहेका छन् । यो वृद्धि स्पष्ट रूपमा धेरै बढी र धेरै चाँडो थियो ।’ पिक्टेट एसेट म्यानेजमेन्टका सिनियर मल्टी–एसेट स्ट्याटेजिस्ट अरुण साईले फाइनान्सियल टाईम्ससँग कुरा गर्दै भने, ‘यसअघि जुन किसिमको उच्च मूल्यमा तीव्र हलचल देखियो, त्यसलाई हेर्दा उच्च अस्थिरताको अपेक्षा गरिनु स्वभाविक थियो ।’ कम्पनी आफ्नो आकलनमा अडिग छ कि केन्द्रीय बैंकका रिजरभ प्रबन्धकहरू र अन्य लगानीकर्ताहरूले लगानीमा विविधीकरण गर्ने भएकाले सुनले लाभ पाइरहनेछ।
अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गका अनुसार मूल्यको गिरावट १९८० को दशकको सुरुवातपछिको सबैभन्दा ठूलो ‘इन्ट्राडे’ (दिनभरको) गिरावट हो । चाँदीमा पनि यो रेकर्डस्तरको इन्ट्राडे गिरावट हो । यस बिक्रीको असर पूरै धातु बजारमा परेको छ । शेयर बजारका जानकारहरू मान्छन् कि यी धातुहरूमा तीव्र वृद्धिपछि मूल्यमा क्र्यास हुने आशंका पहिलेदेखि नै थियो र केही समाचारहरूले यसका लागि बहाना मात्र दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिहरूबाट पनि बजार लगातार त्रसित रहँदै आएको छ ।
गत १ वर्षमा सुनको मूल्यमा ६० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो १ वर्षमा बहुमूल्य धातुहरूमा लगानीकर्ताहरूको भारी माग देखियो, जसले गर्दा एकपछि अर्को रेकर्डहरू बने । यो तीव्रताले अनुभवी ट्रेडरहरूलाई पनि चकित तुल्यायो र मूल्यमा तीव्र उतारचढाव पैदा गर्यो । जनवरी महिनामा यो झुकाव अझ तीव्र भयो, जब लगानीकर्ताहरूले मुद्राको कमजोर हुँदै गएको मूल्य, फेडरल रिजर्भको स्वतन्त्रतालाई लिएर चिन्ता, ट्रेड वार (व्यापार युद्ध) र भू–राजनीतिक तनावबिच परम्परागत सुरक्षित विकल्पतर्फ ध्यान केन्द्रित गरेका छन् ।
ब्लूमबर्गले ओभरसीज–चाइनिज बैंकिङ कोरका रणनीतिकार क्रिस्टोफर वोंगलाई उदृत गर्दै लेखेको छ कि ‘द बोर्ड अफ गभर्नर्स अफ द फेडरल रिजर्भ’को अध्यक्षका लागि केभिन वार्शको नामांकनको खबर यस महागिरावटको एउटा ट्रिगर बन्यो तर पहिले नै करेक्सन आवश्यक भइसकेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भको अध्यक्षका लागि केभिन वार्शको नाम घोषणा गरेका छन् । ट्रम्पको घोषणालाई क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि स्वागत गरेका छन् । कार्नीले भनेका छन् कि मुस्किल समयमा विश्वको सबैभन्दा महत्वपूर्ण केन्द्रीय बैंकको नेतृत्वका लागि केभिन उत्कृष्ट छनोट हुन् । क्रिस्टोफर वोंगले भने, ‘यो त्यस्तै बहाना हो, जसको बजारले यस्तो तीव्र र असामान्य उछाललाई अन्त्य गर्नका लागि प्रतीक्षा गरिरहेको हुन्छ ।’
एउटा अनुमान यो पनि छ कि लगानीकर्ताहरूले मौकाको फाइदा प्रोफिट बुकिङ (नाफा सुरक्षित गर्न) का लागि उठाए । फाइनान्सियल टाइम्सले लेखेको छ, ‘केही लगानीकर्ताहरूको तर्क छ कि वार्शको नेतृत्वमा रहने फेड, जसलाई अन्य सम्भावित उम्मेदवारहरूको तुलनामा बढी परम्परागत अर्थशास्त्री मानिन्छ, उसले मुद्रास्फीतिमा कडा नियन्त्रण कायम राख्ने सम्भावना छ । डलरको कमजोरीका कारण सुनमा बढ्दो लगानीलाई पनि एउटा कारणका रूपमा हेरिएको छ ।’
ब्लूमबर्गका अनुसार सुन र चाँदीको रेकर्ड गिरावटसँगै डलर बलियो भएको छ । यसको कारण अस्ट्रेलियन डलर र स्वीडिश क्रोना जस्ता कमोडिटी मुद्राहरूमा भएको बिक्री रह्यो । केभिन वार्श फेड अध्यक्षमा मनोनयन भएको खबरपछि डलरमा तीव्रता देखियो । वर्तमान फेड अध्यक्ष जेरोम पावेलको कार्यकाल यसै वर्षको मे महिनामा समाप्त हुँदैछ । यसैबिच राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेट डेमोक्याट्रसबीच अस्थायी सम्झौता भएपछि अर्को अमेरिकी सरकारी शटडाउनको खतरा टरेको छ । ट्रम्पले इरानसँग वार्ताको संकेत दिएका छन्, यसबाट पनि मध्य–पूर्वमा तनाव केही कम भएको छ ।
ब्लूमबर्गका अनुसार सुनचाँदीमा गिरावट आउनुको अर्को कारण यो पनि थियो कि यी दुवै धातुहरू ‘ओभरबट’ (आवश्यकताभन्दा बढी खरिद गरिएको) श्रेणीमा पुगेका थिए । यिनको रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ९० सम्म पुगेको थियो, जुन दशकौंपछिको उच्च स्तर हो । आरएसआई यदि ७० वा सोभन्दा माथि छ भने यसको अर्थ हुन्छ कि ती वस्तुमा आवश्यकताभन्दा बढी खरिदारी भइसकेको छ र मूल्य धेरै बढिसकेको छ, जसका लागि करेक्सन आवश्यक छ ।
यद्यपि शुक्रबारको गिरावटपछि पनि सुनले महिनाभरमा १३ प्रतिशतको बढोत्तरी दर्ता गरेको छ भने चाँदी महिनाभरमा १९ प्रतिशत माथि रहेको छ । धातु बजारमा आएको यस गिरावटको असर ठूला माइनिङ (खानी) कम्पनीहरूको शेयरमा पनि पर्यो । भारतको शेयर बजारमा गोल्ड र सिल्भर ईटीएफ करीब १० प्रतिशतसम्म गिरे । तामाका शेयरहरू पनि तीव्र रूपमा घटे । न्यूयोर्क ट्रेडिङमा न्युमोन्ट कर्प, ब्यारिक माइनिङ कर्प र एग्निको ईगल माइन्स जस्ता प्रमुख गोल्ड कम्पनीहरूको शेयर १० प्रतिशतभन्दा बढीले घट्यो ।
न्यूयोर्कमा स्पट गोल्ड ८.९ प्रतिशतले घटेर ४ हजार ८९४.२३ डलर प्रतिऔंसमा बन्द भयो । चाँदी २६ प्रतिशतले घटेर ८५.२० डलर प्रतिऔंसमा झर्यो । प्लेटिनम र प्यालेडियममा पनि गिरावट दर्ता गरियो । ब्लूमबर्ग डलर स्पट इन्डेक्स ०.९ प्रतिशतले चढ्यो । लन्डन मेटल एक्सचेन्जमा तामा १३ हजार १५७.५० डलर प्रतिटनमा बन्द भयो । बिहीबार यो १४ हजार डलर प्रतिटनभन्दा माथि पुगेको थियो, जुन २००८ पछिको यसको सबैभन्दा ठूलो इन्ट्राडे तीव्रता थियो । त्यसपछि यसमा गिरावट देखियो ।
डलर बलियो हुनाले अन्य मुद्रा राख्ने लगानीकर्ताका लागि कमोडिटी महंगो हुन जान्छ, किनकि यिनको मूल्य डलरमा तय हुन्छ । ब्लूमबर्गका अनुसार हेरायस प्रेशस मेटल्सका ट्रेडिङ हेड डोमिनिक स्परजेलको भनाइ छ कि बजारमा हलचल निकै बढी छ र शुक्रबार ५ हजार डलरको मनोवैज्ञानिक स्तर कैयौ पटक टुट्यो । उनका अनुसार आगामी समयमा उतारचढाव जारी रहने कुराका लागि तयार रहनुपर्छ । सुनको तीव्रतामा चिनियाँ लगानीकर्ताहरूको महत्वपूर्ण भूमिका रह्यो र उनीहरूको भारी खरिदारीलाई ध्यानमा राख्दै शंघाई फ्युचर्स एक्सचेन्जले बहुमूल्य र औद्योगिक धातुहरूको वृद्धिलाई रोक्नका लागि कैयौ उपायहरू गर्नुपरेको थियो । (बीबीसीबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।



























