काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा नेपालमा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस अवधिको तुलनामा चालु आवमा विप्रेषण आप्रवाह दुई खर्ब ९९ अर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर ४.२ प्रतिशत मात्र रहेको थियो । यसले चालु आवमा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा तीव्र बनेको संकेत गर्छ ।
विशेषगरी पुस महिनामा मात्रै रेमिट्यान्स आप्रवाहमा ठूलो उछाल देखिएको छ । पुस महिनामा एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको थियो ।
एकै महिनामा झन्डै ७० अर्ब रुपैयाँले रेमिट्यान्स बढ्नुले वैदेशिक रोजगारीको प्रभाव झनै स्पष्ट पारेको छ । डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ । चालु आवको ६ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई सात अर्ब ५० करोड पुगेको छ । गत आवको सोही अवधिमा पाँच अर्ब ५८ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्ष सोही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि दर २.७ प्रतिशत मात्रै रहेको थियो । अर्थशास्त्रीहरूका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या र औपचारिक बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाउने प्रवृत्ति बढ्नु नै रेमिट्यान्स वृद्धिको मुख्य कारण हो । वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीले चालु खाताको घाटा कम गर्न, विदेशी मुद्रा सञ्चिति बलियो बनाउन तथा उपभोग र लगानीलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।
उपलब्ध तथ्यांकअनुसार चालु आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ६ हजार ८०७ पुगेको छ । यसैगरी, पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार ७३३ रहेको छ । गत वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६२ हजार ६२८ थियो । यद्यपि नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका कामदारले निरन्तर रूपमा बैंकिङ च्यानल प्रयोग गरी रकम पठाउन थालेकाले रेमिट्यान्स वृद्धि भएको विश्लेषण गरिएको छ ।
यससँगै चालु आवको ६ महिनामा खुद ट्रान्सफर पनि उल्लेख्य रूपमा बढेको छ । सो अवधिमा खुद ट्रान्सफर ११ खर्ब ६८ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय आठ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । रेमिट्यान्स आप्रवाह बढे पनि अर्थविद्हरूले यसलाई दीर्घकालीन विकासको स्थायी आधार बनाउन चुनौती रहेको औंल्याएका छन् । उनीहरूका अनुसार रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके मात्र अर्थतन्त्र दीर्घकालीन रूपमा सबल बन्न सक्छ । वैदेशिक रोजगारीले तत्काल राहत दिए पनि आन्तरिक रोजगारी सिर्जना र उद्योग–व्यवसायको विकास अपरिहार्य रहेको उनीहरूको धारणा छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।


























