काठमाडौं । त्रिभुवन आर्मी क्लबले उत्कृष्ट र अपराजित प्रदर्शन गर्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मीले तेस्रो पटक उपाधि आफ्नो नाममा लेखाएको हो।
फाइनल खेलमा सुदूरपश्चिमले दिएको १६२ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर सहज जित निकालेको थियो। सुरुवात केही कमजोर भए पनि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिततर्फ डो–याएका थिए।
आर्मीको जितमा इमरान शेख नायक सावित भए। उनले अविजित ४६ रन बनाउँदै टिमलाई लक्ष्यसम्म पुर्याए। उनलाई बसिर अहमदले ४५ रन बनाएर राम्रो साथ दिए। यी दुईबीच पाँचौं विकेटका लागि बनेको ९६ रनको महत्वपूर्ण साझेदारी नै आर्मीको जितको मुख्य आधार बन्यो।
आर्मीले एक समय ५६ रनमै ४ विकेट गुमाएर दबाबमा परेको थियो। कप्तान विनोद भण्डारी २ रनमै आउट हुँदा भीम सार्की ४ र कुशल मल्ल १७ रनमा आउट भए। त्यसपछि तृतराज दासले ३१ रनको योगदान दिए पनि टोली दबाबमै थियो। तर बसिर र इमरानले संयमित र जिम्मेवार ब्याटिङ गर्दै इनिङ सम्हाले र टिमलाई जित दिलाए।
सुदूरपश्चिमका बलरमध्ये हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल, अशोक धामी र विकास आग्रीले समान १/१ विकेट हात पारेका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। शीर्षक्रमका ब्याटरहरू लगातार आउट भएपछि टोली दबाबमा परेको थियो। सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्रै जोड्न सफल भयो।
टोलीका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ रन जोड्दै इनिङ सम्हाल्ने प्रयास गरे। नारायण जोशीले २९ रन बनाउँदा हेमन्त धामीले १६ रनको योगदान दिए। तर अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिम ठूलो स्कोर बनाउनबाट वञ्चित रह्यो।
आर्मीको बलिङतर्फ आकाश चन्द र शाहब आलम चम्किए। दुवैले समान ३/३ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई धराशायी बनाए। बसिर अहमदले २ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे।
यस प्रतियोगितामा आर्मीको प्रदर्शन अत्यन्तै प्रभावशाली रह्यो। आर्मीले प्रतियोगिताभर एक खेल पनि नहार्दै अपराजित यात्रा कायम राख्यो। लिग चरणका ९ खेलमध्ये ८ खेल जित्दा १ खेलमा अंक बाँडेको थियो। यसले टोलीको सन्तुलित र निरन्तर प्रदर्शनलाई झल्काउँछ।
यता, सुदूरपश्चिम प्रदेशले भने राम्रो प्रदर्शन गर्दै पहिलो पटक फाइनलसम्मको यात्रा तय गरेको थियो। ९ खेलमध्ये ६ खेल जित्दै फाइनल पुगेको सुदूरपश्चिमले उपाधि जित्न नसके पनि प्रतियोगितामा आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको छ।
त्रिभुवन आर्मी क्लबले यसअघि सन् २०१७ मा पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्त रूपमा उपाधि जितेको थियो भने सन् २०२१ मा पनि च्याम्पियन बनेको थियो। सबै संस्करणको फाइनल खेलेको आर्मी पाँच पटक उपविजेतामा सीमित भएको अनुभव पनि बोकेको टोली हो।
यस पटकको उपाधिसँगै आर्मीले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। समग्रमा, आर्मीको सन्तुलित ब्याटिङ, प्रभावकारी बलिङ र दबाबमा उत्कृष्ट प्रदर्शनले टोलीलाई उपाधिसम्म पुर्याएको देखिन्छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


























