लिग चरण अन्त्यसँगै जय ट्रफीका सहभागी टिमको लाग्यो टुंगो

लिग चरण अन्त्यसँगै जय ट्रफीका सहभागी टिमको लाग्यो टुंगो

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरू सम्पन्न भएका छन् । बुधबार सम्पन्न अन्तिम दुई खेलसँगै लिग चरणको अन्त्य भएको हो ।

लिग चरणमा त्रिभुवन आर्मी क्लब अपराजित रहँदै शीर्ष स्थानमा पुगेर फाइनलमा प्रवेश गरेको छ । आर्मीले अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राख्यो । १३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउँदै कठिन जित हासिल गरेको थियो ।

आर्मीको सुरुआत भने कमजोर रह्यो । त्रितराक दास १० रन, कप्तान विनोद भण्डारी शून्य र भीम सार्की १८ रनमा आउट हुँदा टोली ३० रनमै ३ विकेट गुमाएको अवस्थामा थियो । त्यसपछि कुशल मल्ल र अर्जुन साउदले चौथो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए । कुशलले ४१ रन बनाउँदा अर्जुनले २८ रन जोडे ।

अन्त्यतिर खेल निकै रोमाञ्चक बन्यो । १ विकेट बाँकी रहँदा ५ रन आवश्यक भएको अवस्थामा आकाश चन्दले निर्णायक चौका प्रहार गर्दै आर्मीलाई १ रनको जित दिलाए । इमरान शेख १६ रनमा अविजित रहे ।

लुम्बिनीका लागि सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै ६ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि ब्याटिङ गरेको लुम्बिनी १३८ रनमै समेटिएको थियो, जहाँ रन्जित खड्काले सर्वाधिक २८ रन बनाए ।

अर्को खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्‍यो । १३१ रनको लक्ष्य पछ्याएको मधेशले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अरनिको यादवले अविजित ६५ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई जित दिलाए ।

लिग चरणपछि अंक तालिकामा आर्मी १७ अंकसहित शीर्ष स्थानमा रह्यो भने १२ अंक जोडेको सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । अब यी दुई टोलीबीच शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यस्तै ११–११ अंक भएका एपीएफ क्लब र मधेश प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा रहे । ९ अंक जोडेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब पाँचौं र छैटौं स्थानमा रहेर आगामी जय ट्रफीका लागि छनोट भए ।

यससँगै आगामी जय ट्रफी बहुदिवसीय प्रतियोगिताका लागि छनोट हुने ६ टोलीको टुंगो लागेको छ । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफीमा सहभागी टोलीको संख्या ४ बाट बढाएर ६ पुर्‍याएको हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।