विवेकशील साझाले सार्वजनिक गर्‍यो ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र

विवेकशील साझाले सार्वजनिक गर्‍यो ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र

काठमाडौं । विवेकशील साझाले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेकाे छ ।

अखण्ड, स्वायत्त एवं सार्वभोम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराइ धरातलीय यथार्थ बुझाउन पार्टीले ऐतिहासिक नेपालको गोैरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो । 

मानचित्रमा एसियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडिको भूभाग र वर्तमान भूभागमा रहेका सां‌स्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरूलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वोैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन। 

गौरवमय इतिहासमा 'मानसरोवरदेखि गंगा मैदान सम्म'का धरोहरलाई नक्सांकन गरिएको छ। 

धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ।

हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर बनाइएको 'अखण्ड भारत'को नयाँ नक्सा प्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोटसमेत पठाएको छैन । 

यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले विश्व सम्पदा सूचीमा सुचिकृत सार्वभौम नेपालका महत्त्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर 'अखण्ड भारत'को नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रवृत्तिको घोर भर्त्सना गरेकेा छ ।

विवेकशील साझा पार्टी 'ऐतिहासिक नेपालको सा‌ंस्कृतिक मानचित्र'लाई नेपालको संसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरुमा राखेर ऐक्यवद्धता जनाउन सरोकावालासँग अपीलसमेत गरेकाे छ ।