गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनको यस महत्वपूर्ण अवसरमा यहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
अधिवेशनबाट संस्थालाई अझ एकताबद्ध बनाएर लैजान सक्ने प्रतिबद्ध, इमान्दार र जुझारू नेतृत्वको टीम निर्वाचित गर्न सफल हुनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु ।
यस मञ्चले स्थापनाकालदेखि नै नेपालको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवर्धनमा खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहँदै आएको छ । विशेषगरी शहरमा केन्द्रित पर्यटन गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्ने अभियानमा यस संस्थाले पुर्याएको योगदान उल्लेखनीय र अनुकरणीय छ ।
नेपाल सांस्कृतिक, प्राकृतिक, पर्यावरणीय र मानवीय विविधताले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराई/मधेशको अनुपम संयोजनका साथै विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र जीवनशैलीले नेपाललाई विश्वमै विशिष्ट पहिचान दिलाएको छ । अझ हाम्रो ग्रामीण क्षेत्रको मौलिकता, आत्मीयता र प्रकृतिको अर्ग्यानिक सौन्दर्यताले नेपालको पर्यटनको अथाह सम्भावनालाई उजागर गरेको छ । त्यसैले यदि हामीले नेपालको पर्यटन उद्योगलाई साँच्चिकै समावेशी, दिगो र राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने अब गाउँतर्फ फर्किनुपर्छ भन्ने मलाई लाग्दछ ।
ग्रामीण पर्यटनले केवल पर्यटक भित्र्याउने मात्र होइन, यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छ । साना तथा घरेलु व्यवसायलाई प्रवर्धन गर्छ । युवालाई गाउँमै अवसर प्रदान गर्छ र परम्परागत कला, संस्कृति तथा जीवनशैलीको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ । होमस्टे कार्यक्रम, कृषि–पर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनजस्ता अवधारणाले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याइरहेका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयासले ग्रामीण क्षेत्रमा आयआर्जनका नयाँ सम्भावनाहरू सिर्जना गरिरहेका छन् ।
यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले अपेक्षा गरेअनुसार पर्यटन क्षेत्रको विस्तार गर्न सकेका छैनौँ । पूर्वाधारको अभाव, गुणस्तरीय सेवा सुनिश्चित गर्न नसक्नु, दक्ष जनशक्तिको कमी, प्रचारप्रसारको अभाव, बजार पहुँचको सीमितता तथा नीतिगत समन्वयको कमजोरी अझै चुनौतीका रूपमा रहेका छन् । कतिपय स्थानहरूमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि आवश्यक लगानी र योजनाको अभावका कारण ती क्षेत्रहरू ओझेलमा परिरहेका छन् । अब यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्ने समय आएको छ ।
यसका लागि राज्य, निजी क्षेत्र र सामाजिक संघसंस्थाबिचको सहकार्य अत्यन्त आवश्यक छ । राज्यले केवल नीति निर्माण गर्ने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चिनत गर्ने दायित्व पनि वहन गर्नुपर्छ । सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य सेवा र सुरक्षाजस्ता आधारभूत पूर्वाधारको विकास ग्रामीण पर्यटनको मेरूदण्ड हो । यी क्षेत्रमा पर्याप्त लगानी र दीर्घकालीन योजना आवश्यक छ । साथै, लगानीमैत्री वातावरण निर्माण, कर सहुलियत, सहज प्रशासनिक प्रक्रिया र पारदर्शी नीति व्यवस्थाले पर्यटन क्षेत्रमा थप ऊर्जा प्रदान गर्न सक्छ ।
निजी क्षेत्र पर्यटन क्षेत्रको नवप्रवर्तन, व्यवस्थापन र बजार विस्तारको प्रमुख चालक शक्ति हो । गुणस्तरीय सेवा, व्यावसायिक व्यवस्थापन, प्रभावकारी ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । होमस्टे, बुटिक लज, इको–रिसोर्ट, कृषि–पर्यटन तथा साहसिक पर्यटनका क्षेत्रमा लगानी र व्यावसायिकता विस्तार गर्न सके ग्रामीण पर्यटन अझ सशक्त बन्न सक्छ । त्यसका लागि नाफामुखी सोच मात्रै राखेर होइन, सामाजिक उत्तरदायित्व र समुदायको हितलाई जोड्ने सोच पनि विकास गर्न आवश्यक छ भन्ने मलाई लाग्छ ।
त्यसैगरी, सामाजिक संघसंस्थाहरूले स्थानीय समुदायलाई सशक्त बनाउने, सीप विकास गर्ने, महिला तथा युवालाई पर्यटनसँग जोड्ने, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । स्थानीय तहमा जनचेतना अभिवृद्धि, सरसफाइ अभियान, वातावरण संरक्षण र पर्यटनमैत्री व्यवहार विकासमा सामाजिक संघ संस्थाहरूको योगदान अत्यन्त महत्वपूर्ण रहन्छ ।
उपस्थित महानुभावहरू पर्यटनको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माण जरूरी छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबिच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्य आवश्यक छ । दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रवर्धनका लागि सुदृढ कानुनी आधार आवश्यक छ । प्रदेशहरूले आफ्नो भूगोल र सांस्कृतिक विशेषताअनुसार पर्यटन नीति निर्माण गर्न सक्छन् भने स्थानीय तहले कार्यान्वयनमा अग्रणी भूमिका खेल्न सक्छन् । संघीय संसद्, राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले नीति निर्माण, ऐन कानुन निर्माण एवम् संशोधन जस्ता विषयमा यहाँहरूको पहलकदमी र खबरदारीलाई आत्मसात गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने र आवश्यक समन्वय गर्ने कुरामा मैले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
आजको युग डिजिटल प्रविधिको युग हो । त्यसैले ग्रामीण पर्यटनको प्रवर्धनमा डिजिटल माध्यमको अधिकतम उपयोग गर्न आवश्यक छ । अनलाइन माध्याम, सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत् नेपालका ग्रामीण गन्तव्यहरूलाई विश्वसामु चिनाउन सकिन्छ । साथै गुणस्तर सुनिश्चिततता, सेवा मापदण्डको विकास र नियमित अनुगमनमार्फत् पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्न सकिन्छ ।
हामीले अब गुणस्तरलाई प्राथमिकता दिने, स्थानीय समुदायलाई पर्यटनको केन्द्रमा राख्नेर, वातावरणीय सन्तुलन कायम गर्ने र दिगोपन सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्छ । नीति र व्यवहारबिचको दूरी घटाउँदै नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
ग्रामीण पर्यटन केवल आर्थिक समृद्धिको माध्यम मात्र होइन, यो सामाजिक रूपान्तरणको बलियो आधार पनि हो । यसले हाम्रो मौलिक संस्कृति जोगाउँछ । प्राकृतिक सम्पदाको संरक्षण गर्छ र भावी पुस्तालाई अवसर प्रदान गर्छ । यदि हामी सबै सरोकारवालाहरूले स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताका साथ अघि बढ्यौँ भने नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्य बनाउन सफल हुनेछौँ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।
फेरि पनि गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको १३औँ अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै यसको निरन्तर नेतृत्व, सक्रियता र योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै ग्रामीण पर्यटनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सरोकारवालाहरूलाई एकताबद्ध भई ग्रामीण पर्यटनको प्रवर्धनका लागि आपसी सहयोग, सहकार्य र दिगोपनतर्फ अग्रसर हुन हार्दिक अपिल गर्दै मेरा भनाइ यही टुंग्याउँछु । धन्यवाद !
(काठमाडौँमा गाउँ पर्यटन प्रवर्धन मञ्च (भीटोफ) नेपालको कार्यक्रममा शनिबार गरिएको सम्बोधन)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।


























