ग्रामीण पर्यटनको प्रवर्धनमा डिजिटल माध्यमको उपयोग आवश्यक

ग्रामीण पर्यटनको प्रवर्धनमा डिजिटल माध्यमको उपयोग आवश्यक

गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनको यस महत्वपूर्ण अवसरमा यहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

अधिवेशनबाट संस्थालाई अझ एकताबद्ध बनाएर लैजान सक्ने प्रतिबद्ध, इमान्दार र जुझारू नेतृत्वको टीम निर्वाचित गर्न सफल हुनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु ।

यस मञ्चले स्थापनाकालदेखि नै नेपालको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवर्धनमा खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहँदै आएको छ । विशेषगरी शहरमा केन्द्रित पर्यटन गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्ने अभियानमा यस संस्थाले पुर्‍याएको योगदान उल्लेखनीय र अनुकरणीय छ ।

नेपाल सांस्कृतिक, प्राकृतिक, पर्यावरणीय र मानवीय विविधताले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराई/मधेशको अनुपम संयोजनका साथै विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र जीवनशैलीले नेपाललाई विश्वमै विशिष्ट पहिचान दिलाएको छ । अझ हाम्रो ग्रामीण क्षेत्रको मौलिकता, आत्मीयता र प्रकृतिको अर्ग्यानिक सौन्दर्यताले नेपालको पर्यटनको अथाह सम्भावनालाई उजागर गरेको छ । त्यसैले यदि हामीले नेपालको पर्यटन उद्योगलाई साँच्चिकै समावेशी, दिगो र राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने अब गाउँतर्फ फर्किनुपर्छ भन्ने मलाई लाग्दछ ।

ग्रामीण पर्यटनले केवल पर्यटक भित्र्याउने मात्र होइन, यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छ । साना तथा घरेलु व्यवसायलाई प्रवर्धन गर्छ । युवालाई गाउँमै अवसर प्रदान गर्छ र परम्परागत कला, संस्कृति तथा जीवनशैलीको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । होमस्टे कार्यक्रम, कृषि–पर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनजस्ता अवधारणाले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याइरहेका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयासले ग्रामीण क्षेत्रमा आयआर्जनका नयाँ सम्भावनाहरू सिर्जना गरिरहेका छन् ।

यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले अपेक्षा गरेअनुसार पर्यटन क्षेत्रको विस्तार गर्न सकेका छैनौँ । पूर्वाधारको अभाव, गुणस्तरीय सेवा सुनिश्चित गर्न नसक्नु, दक्ष जनशक्तिको कमी, प्रचारप्रसारको अभाव, बजार पहुँचको सीमितता तथा नीतिगत समन्वयको कमजोरी अझै चुनौतीका रूपमा रहेका छन् । कतिपय स्थानहरूमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि आवश्यक लगानी र योजनाको अभावका कारण ती क्षेत्रहरू ओझेलमा परिरहेका छन् । अब यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्ने समय आएको छ ।
यसका लागि राज्य, निजी क्षेत्र र सामाजिक संघसंस्थाबिचको सहकार्य अत्यन्त आवश्यक छ । राज्यले केवल नीति निर्माण गर्ने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चिनत गर्ने दायित्व पनि वहन गर्नुपर्छ । सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य सेवा र सुरक्षाजस्ता आधारभूत पूर्वाधारको विकास ग्रामीण पर्यटनको मेरूदण्ड हो । यी क्षेत्रमा पर्याप्त लगानी र दीर्घकालीन योजना आवश्यक छ । साथै, लगानीमैत्री वातावरण निर्माण, कर सहुलियत, सहज प्रशासनिक प्रक्रिया र पारदर्शी नीति व्यवस्थाले पर्यटन क्षेत्रमा थप ऊर्जा प्रदान गर्न सक्छ ।

निजी क्षेत्र पर्यटन क्षेत्रको नवप्रवर्तन, व्यवस्थापन र बजार विस्तारको प्रमुख चालक शक्ति हो । गुणस्तरीय सेवा, व्यावसायिक व्यवस्थापन, प्रभावकारी ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । होमस्टे, बुटिक लज, इको–रिसोर्ट, कृषि–पर्यटन तथा साहसिक पर्यटनका क्षेत्रमा लगानी र व्यावसायिकता विस्तार गर्न सके ग्रामीण पर्यटन अझ सशक्त बन्न सक्छ । त्यसका लागि नाफामुखी सोच मात्रै राखेर होइन, सामाजिक उत्तरदायित्व र समुदायको हितलाई जोड्ने सोच पनि विकास गर्न आवश्यक छ भन्ने मलाई लाग्छ ।

त्यसैगरी, सामाजिक संघसंस्थाहरूले स्थानीय समुदायलाई सशक्त बनाउने, सीप विकास गर्ने, महिला तथा युवालाई पर्यटनसँग जोड्ने, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । स्थानीय तहमा जनचेतना अभिवृद्धि, सरसफाइ अभियान, वातावरण संरक्षण र पर्यटनमैत्री व्यवहार विकासमा सामाजिक संघ संस्थाहरूको योगदान अत्यन्त महत्वपूर्ण रहन्छ ।

उपस्थित महानुभावहरू पर्यटनको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माण जरूरी छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबिच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्य आवश्यक छ । दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रवर्धनका लागि सुदृढ कानुनी आधार आवश्यक छ । प्रदेशहरूले आफ्नो भूगोल र सांस्कृतिक विशेषताअनुसार पर्यटन नीति निर्माण गर्न सक्छन् भने स्थानीय तहले कार्यान्वयनमा अग्रणी भूमिका खेल्न सक्छन् । संघीय संसद्, राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले नीति निर्माण, ऐन कानुन निर्माण एवम् संशोधन जस्ता विषयमा यहाँहरूको पहलकदमी र खबरदारीलाई आत्मसात गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने र आवश्यक समन्वय गर्ने कुरामा मैले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
आजको युग डिजिटल प्रविधिको युग हो । त्यसैले ग्रामीण पर्यटनको प्रवर्धनमा डिजिटल माध्यमको अधिकतम उपयोग गर्न आवश्यक छ । अनलाइन माध्याम, सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत् नेपालका ग्रामीण गन्तव्यहरूलाई विश्वसामु चिनाउन सकिन्छ । साथै गुणस्तर सुनिश्चिततता, सेवा मापदण्डको विकास र नियमित अनुगमनमार्फत् पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्न सकिन्छ ।
हामीले अब गुणस्तरलाई प्राथमिकता दिने, स्थानीय समुदायलाई पर्यटनको केन्द्रमा राख्नेर, वातावरणीय सन्तुलन कायम गर्ने र दिगोपन सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्छ । नीति र व्यवहारबिचको दूरी घटाउँदै नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
ग्रामीण पर्यटन केवल आर्थिक समृद्धिको माध्यम मात्र होइन, यो सामाजिक रूपान्तरणको बलियो आधार पनि हो । यसले हाम्रो मौलिक संस्कृति जोगाउँछ । प्राकृतिक सम्पदाको संरक्षण गर्छ र भावी पुस्तालाई अवसर प्रदान गर्छ । यदि हामी सबै सरोकारवालाहरूले स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताका साथ अघि बढ्यौँ भने नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्य बनाउन सफल हुनेछौँ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।
फेरि पनि गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको १३औँ अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै यसको निरन्तर नेतृत्व, सक्रियता र योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै ग्रामीण पर्यटनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सरोकारवालाहरूलाई एकताबद्ध भई ग्रामीण पर्यटनको प्रवर्धनका लागि आपसी सहयोग, सहकार्य र दिगोपनतर्फ अग्रसर हुन हार्दिक अपिल गर्दै मेरा भनाइ यही टुंग्याउँछु । धन्यवाद !
(काठमाडौँमा गाउँ पर्यटन प्रवर्धन मञ्च (भीटोफ) नेपालको कार्यक्रममा शनिबार गरिएको सम्बोधन)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।