काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था निर्णायक मोडमा पुगेको बताएका छन्, जसले देश जित्ने कि देश हार्ने निर्णायक प्रभाव पार्नेछ।
शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे।
ओलीले देश जिताउनुपर्ने सोचका साथ पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै, अग्रवाल देशभक्त पार्टीमा आएका भएको उल्लेख गरे। “शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टीको पक्षमा उहाँ लाग्नुभएको छ,” अध्यक्ष ओलीले भने।
नेपाल समृद्ध र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको उनले जोड दिए। उनले एमालेलाई अन्य पार्टीजस्तै केवल एउटा राजनीतिक दल नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँड्ने पार्टीको रूपमा वर्णन गरे।
नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति संकेत गर्दै अध्यक्ष ओलीले ती दलहरूको स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे। “आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैन, भोलि कहाँ पुग्ने हो, थाहा छैन,” उनले भने, “एमाले भने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो।”
ओलीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताउँदै, राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा आउने उदाहरण पनि प्रस्तुत गरे। “त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए। राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ,” उनले भने।
एमाले प्रशंसाको पछि नभई सत्यको पछि हिँड्ने पार्टी भएको भन्दै, देशको रक्षा र विकास नै पार्टीको मुख्य लक्ष्य रहेको अध्यक्ष ओलीले बताए। उनले अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै, पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
अग्रवालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको एमाले प्रवेशलाई पार्टीले आर्थिक र राजनीतिक विश्वासको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ।




























