निर्वाचन अभियानका लागि गगन थापा भोलि सर्लाही जाँदै

निर्वाचन अभियानका लागि गगन थापा भोलि सर्लाही जाँदै

काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका क्षेत्र सर्लाही–४ मा निर्वाचन अभियानका क्रममा जिल्ला जान लागेका हुन्।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै सभापति थापाले आफू उम्मेदवारका रूपमा पहिलोपटक सर्लाही जान लागेको जानकारी दिए। “भोलि म सर्लाही जाँदैछु। म यसअघि पनि पटक–पटक क्षेत्र नम्बर ४ गएको छु, तर राजनीतिक कार्यक्रममा मात्रै गएको थिएँ,” उनले भने, “योपटक भने उम्मेदवार बनेर जाँदैछु। मेरो मनमा एकदमै धेरै उत्साह छ।”

थापाले सर्लाही–४ का युवामाथि भरोसा राखेरै आफूले जीवनकै ठूलो राजनीतिक निर्णय गरेको दाबी गरे। “म जीवनको अत्यन्त ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूकै भरमा,” उनले भने।

उनले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सक्रिय रूपमा सर्लाही पुगेर सहयोग गर्न पनि आग्रह गरे। युवाको समर्थनकै कारण आफू सर्लाही–४ बाट निर्वाचन लड्ने निर्णयमा पुगेको उनको भनाइ थियो।
“इलेक्सनको बेला सक्ने काम गरिदिन सर्लाही आइदिनुपर्छ। तपाईंहरूको घर–घर पुगिदिनुपर्छ,” उनले भने, “हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ भनेर अभिभावकलाई विश्वास दिलाइदिनुपर्छ। म तपाईंहरूको भरोसामै आएको हुँ।”

यसअघि शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै निर्वाचनमा जाने निर्णय गरेको थियो। उपसभापति विश्वप्रकाश शर्माले अर्की उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो।