काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताएका छन् ।
आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताए । मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा युवा सशक्तिकरण, सीप र तालिमको माध्यमबाट रोजगारी सृजना गर्न निर्देशन दिए ।
परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले यही साताभित्र युवा नीति सार्वजनिक गर्ने जानकारी दिए । “कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले साहस, प्रतिबद्धता र नवप्रवर्तनप्रति रुचि देखाएका छन्”, उनले भने , “युवाजनशक्तिको सहभागितामा ठूलो परिवर्तनको हामीले अनुभव गर्न पाएका छौँ ।”
सोही कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गर ह्याम्डीले युवा दिवस केवल उत्साह मात्र नभई सहकार्य र प्रतिबद्धताको अवसर भएको स्मरण गराए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा भविष्यका कर्णधारसँगै वर्तमानको साझेदार भएकाबारे चर्चा गरे ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको १२ अगस्तलाई अन्तरराष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालले यस वर्ष ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारासहित यो दिवस मनाउँदैछ । राष्ट्रिय युवा परिषद्ले सो कार्यक्रम आयोजना गरेको थियो ।
























