काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र युएईबीचको खेलमा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर युएईका कप्तान मोहम्मद वासिमले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
पहिले ब्याटिङ गरेको नेपाल ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमा समेटियो र युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै २५ बलमा २४ रन बनाए, जसमा ४ चौका समावेश थिए। विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ६ बलमा ७ रन जोडे भने भीम शार्कीले १६ बलमा १० रन बनाए। कप्तान रोहित पौडेल भने ११ बलमा २ रनमै आउट भए।
मिडल अर्डरमा बसिर अहमदले ४० बलमा २० रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे। तर नेपालको इनिङ्सलाई मजबुत आधार दिने काम भने दीपेन्द्र सिंह ऐरी ले गरे। उनले उत्कृष्ट ७५ रनको महत्वपूर्ण पारी खेल्दै नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्याए।
त्यसैगरी, आरिफ शेख र सोमपाल कामी दुवैले समान १५–१५ रन बनाए। लोअर अर्डरमा करण केसी ले ३७ बलमा २२ रन (१ चौका र १ छक्का सहित) जोड्दै महत्वपूर्ण योगदान दिए। सन्दीप लामिछाने २ रनमै आउट भए भने अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्।
युएईका बलरहरूतर्फ जुनैद सिद्दिकी र अजय कुमारले समान ३–३ विकेट लिए भने खुजाइमा तानविरले २ विकेट लिए। साथै हैदर अली र मुहम्मद शाहदाद ले १–१ विकेट हात पारे।
अब २०१ रनको लक्ष्य पछ्याउने क्रममा युएईले कस्तो प्रदर्शन गर्छ भन्ने हेर्न बाँकी छ। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्न सकेमा खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।



























