काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर प्रयोग गरी हटाउने कार्य सुरु गरिएको छ। बागमती नदी किनारमा रहेको सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्ती हटाउन सरकारद्वारा यो कदम चालिएको हो।
हाल दुईवटा डोजर परिचालन गरिएको छ। बस्तीमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।
थापाथली क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ।
सरकारले आजदेखि बस्ती हटाउने प्रक्रिया अघि बढाएपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। यसअघि सम्बन्धित निकायले बस्ती खाली नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको थियो। तर स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।




























