काठमाडौँ । रोल्पामा भएको भीषण जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ। रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि घटनास्थलमै ठूलो क्षति भएको बताइएको छ। सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या बढेर २० पुगेको प्रहरीले जनाएको छ।
दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य घाइतेहरूको उद्धार तथा उपचारका लागि प्रयास भइरहेको छ। अत्यधिक वर्षा र दुर्गम भूगोलका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयबासी तथा स्वयंसेवकहरूको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ भने घाइतेहरूको अवस्था र पहिचान खुलाउने काम पनि भइरहेको छ। दुर्घटनाले स्थानीयस्तरमा शोकको वातावरण सिर्जना भएको छ।
शुक्रबार वैशाख पूर्णिमा परेको र यस अवसरमा जलजलामा मेला लाग्ने भएकाले स्थानीयहरू मेला भर्न जाँदै गर्दा उक्त दुर्घटना भएको बताइएको छ। तीर्थयात्री बोकेको सवारी दुर्घटनामा परेपछि मेला क्षेत्र तथा आसपासका गाउँहरूमा पनि शोक छाएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




























