दीपेन्द्र र सन्दीपको आईसीसी ओडिआई वरियतामा छलांग

दीपेन्द्र र सन्दीपको आईसीसी ओडिआई वरियतामा छलांग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरियतामा उल्लेखनीय सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियताअनुसार उनी १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्।

घरेलु मैदानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सम्मिलित त्रिकोणात्मक शृंखलामा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनको वरियता सुधार भएको हो। दीपेन्द्रले चार खेलमा दुई अर्धशतक र एक शतक प्रहार गर्दै कुल २६८ रन बनाए। साथै उनले ४ विकेट पनि लिएर टोलीको सफलतामा महत्वपूर्ण योगदान दिए।

यूएईविरुद्ध पहिलो खेलमा उनले ७५ रन बनाउनुका साथै १ विकेट लिए भने ओमानविरुद्ध ६० रनसहित २ विकेट हात पारे। यूएईसँगको दोस्रो खेलमा उनले उत्कृष्ट शतक प्रहार गरे भने अन्तिम खेलमा ३३ रन बनाउँदै १ विकेट लिए। यस प्रदर्शनसँगै उनको रेटिङ अंक बढेर १४८ पुगेको छ। टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा भने दीपेन्द्रसिंह ऐरी चौथो स्थानमै यथावत् छन्।

यस्तै, नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले पनि ओडिआई बलिङ वरियतामा उल्लेखनीय सुधार गरेका छन्। उनी १५ स्थान उक्लिँदै ४३औँ स्थानमा पुगेका छन्। उनको रेटिङ अंक ४८८ पुगेको छ।

लिग–२ शृंखलामा सन्दीपले चार खेलमा ८ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यूएईविरुद्ध १० ओभरमा २५ रन खर्चेर २ विकेट लिएका उनले ओमानविरुद्ध २४ रनमा २ विकेट लिए। यूएईसँगको दोस्रो खेलमा उनले ३ विकेट लिए भने ओमानसँगको अन्तिम खेलमा १ विकेट लिए।

यसैबीच अन्य नेपाली खेलाडीहरूको वरियता भने केही खस्किएको छ। ललित राजवंशी चार स्थान तल झर्दै ६५औँ स्थानमा पुगेका छन् भने करण केसी पाँच स्थान घट्दै ९०औँ स्थानमा सीमित भएका छन्।

समग्रमा लिग–२ शृंखलामा नेपाली खेलाडीहरूको प्रदर्शन सकारात्मक देखिएको छ। विशेषगरी अलराउण्ड प्रदर्शन र किफायती बलिङका कारण टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ। आगामी प्रतियोगिताहरूमा पनि यस्तै निरन्तरता कायम राख्न सके नेपालले अझ राम्रो स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।