धनाढ्य प्रधानमन्त्री र मन्त्री

धनाढ्य प्रधानमन्त्री र मन्त्री

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ ।

आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार नगद मात्रै एक करोड ४६ लाख रुपैयाँ रहेको देखिएको हो। फेसबुक, युट्युव, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।

काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युव र टिकटक रहेको उल्लेख गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोडभन्दा बढीको घर जग्गा रहेको विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दिपुरमा २ करोडको जग्गा रहेको विवरणसहित सम्पत्ति विवरण बुझाएका छन्। यसैगरी, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको उल्लेख गरेका छन्। अर्थमन्त्री वाग्लेले सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्। अपर मादी खोला हाइड्रोमा ३ करोडको शेयर रहेको विवरण बुझएका छन्।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खोलमा ६० लाखको शेयर रहेको विवरणमा उल्लेख छ। सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ मूल्यको सेयर रहेको छ। सुधन आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख मूल्य), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान –खरिद मूल्य ५७ लाख), धितोपत्र बजारमा कारोबार हुने शेयरहरु २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान –खरिद मूल्य ७० लाख) रहेको छ। यी सबै सेयर खरिद व्यवसाय र पैत्रिक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङको दाबी छ।

यस्तै, ८९ तोला सुन र ६ किलो चाँदी गृहमन्त्री गुरुङसँग रहेको छ। उनीसँग नगद मौज्दात ६१ लाख बढी देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रुपैयाँ मौज्दात छ। लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँ बराबरको गाडी गएको असोजमा खरिद गरेको खुलेको छ। यस्तै, आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ। २५ तोला सुन, १०० तोला चाँदी भएका पोखरेलको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको छ। बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी गरेको छ। बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबर छ। बुबा राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई उनले यसको स्रोतको रुपमा देखाएका छन्।
आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर छ। मन्त्री पोखरेलले आफ्नो र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण बुझाएका छन्। हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ। बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ बराबरको छ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खनालले बुझाएको सम्पत्ति विवरणमा सो कुरा खुलाएका छन्।

यस्तै, तनहुँको भानु नगरपालिकामा पैतृक सम्पत्तिबाट १५ रोपनी जग्गा पाएको उल्लेख गरेका छन्। यसैगरी पूर्वनवलपुरको देवचुलीमा १३ रोपनी जग्गा खरिद गरेको खनालले उल्लेख गरेका छन्। उता, नेपालगञ्जमा दुई कठ्ठा जग्गा खरिद गरेको भनेर उनले सम्पत्ति विवरण बुझाएका छन्। यसैगरी खनालले विभिन्न कम्पनिमा शेयर रहेको पनि खुलाएका छन्। जसअन्तर्गत पिक एण्ड ड्रपमा ३३ प्रतिशत, रिक्पा इन्टरनेशल प्रालिमा शतप्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत, विपिडब्लु माइक्रो फाइनान्समा २५६० कित्ता शेयर रहेको मन्त्री खनालले विवरणमा लेखेका छन्।

यस्तै, ओम मेगाश्रीमा फर्मास्युटिकल्स ५ हजार कित्ता र र १०९ कित्ता तथा ग्लोबल आइएमइ बैंकमा ५० कित्ता शेयर रहेको खुलाएका छन्। मन्त्री खनालले अच्युता अधिकारीको नाममा विभिन्न बैंकमा रहेको नगद रकम पनि खुलाएका छन्। उनको नाममा ४० लाख रुपैयाँ पर्ने एउटा गाडी रहेको छ। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रुपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ। जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ।

९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेका लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन्। स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौँको सौखेलमा ७ आना जग्गा रहेको छ। यस्तै, १७ लाख २३ हजार ५३५ रुपैयाँ नगद, २४० कित्ता सेयर रहेको छ। यस्तै, उनले २५ लाख रुपैयाँ पर्ने गाडी चढ्ने गरेकी छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्। श्रीमान गृहन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासु आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ। गौतमले ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्। उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनको र श्रीमानको नाममा छुट्टा छुट्टै गाडी छन्।

गौतमका नाममा २६ लाख र श्रीमान गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँको गाडी छ। यी दुवै सवारी खरिद गर्दा ४५ लाख ऋण लिएको र बाँकी रकम तलब र पुरानो गाडी साटेको उनले विवरणमा उल्लेख छ। यस्तै एउटा स्कुटर पनि उनीहरुसँग छ। यस्तै ग्लोब ट्रट हिमालय टुर्स एण्ड ट्रेक्स प्रालिमा ५० प्रतिशत शेयर गौतमको छ। सोपान मल्टिपल कम्पनीको ६ हजार ५०० कित्ता शेयर छ। संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले पनि आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।

काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनले यी जग्गाको स्रोत श्रीमान्को आय भनेकी छन्। रावलसँग २५ तोला सुन र बैंकमा २४ लाख रुपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ। २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएको उल्लेख छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुईवटा घर रहेका छन्। वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ। यस्तै, सुन र चाँदी १५/१५ तोला रहेको विवरणमा उल्लेख छ।

मन्त्री श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रुपैयाँ ३३ पैसा नगद रहेको छ। १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँको २० हजार ९७८ कित्ता सेयर रहेको छ। यसैगरी उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर रहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार उनीसँग एनआइसी र प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन्। मन्त्री वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ।उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।