काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न आकर्षक सेवा र सुविधासहित ‘समर अफर २०८३’ सार्वजनिक गरेको छ ।
वैशाख ११ गतेदेखि लागू हुने यो अफरमार्फत भ्वाइस, डाटा, एसएमएस तथा अन्य डिजिटल सेवामा नयाँ र परिमार्जित प्याकेजहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीले यस पटक प्रयोगकर्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै प्रिपेड सेवामा उपलब्ध २८ दिनका प्याकेजलाई परिमार्जन गर्दै अब ३० दिनसम्म प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । यस परिवर्तनसँगै ग्राहकहरूले पहिलेभन्दा लामो समयसम्म एउटै प्याकेज प्रयोग गर्न सक्ने भएका छन् । साथै, ३० दिनका सम्पूर्ण भ्वाइस प्याकेजहरू अब सबै नेटवर्कमा कल गर्न मिल्ने (अल–नेट) सुविधासहित उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार कम्पनीले ग्राहकको सुविधा, सहजता र डिजिटल सेवाको प्रयोग बढाउने उद्देश्यसहित नयाँ अफर ल्याएको हो । उनका अनुसार यसपटकको योजना विशेषगरी सस्तो दरमा बढी सुविधा दिन केन्द्रित छ । अफर अन्तर्गत सबैभन्दा लोकप्रिय मानिएको ‘सजिलो अनलिमिटेड प्याक’ लाई अझ आकर्षक बनाइएको छ ।
अब ९९९ रुपैयाँको प्याकेजमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस उपलब्ध हुनेछन् । त्यस्तै, ७९९ रुपैयाँको प्याकेजमा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएसको सुविधा समावेश गरिएको छ । यी प्याकेजहरू विशेषगरी धेरै प्रयोग गर्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीको भनाइ छ ।
डाटा प्रयोगकर्ताका लागि पनि नयाँ विकल्पहरू थपिएका छन् । ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याक उपलब्ध गराइएको छ । यसले इन्टरनेट प्रयोग बढी गर्ने विद्यार्थी, कामकाजी व्यक्ति तथा अनलाइन सेवामा निर्भर प्रयोगकर्तालाई सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी दैनिक डाटा प्रयोगकर्ताका लागि ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी र ३४९ रुपैयाँमा प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने मासिक प्याकेज पनि सार्वजनिक गरिएको छ । छोटो समयका लागि आवश्यक पर्ने प्रयोगकर्तालाई ध्यानमा राख्दै २५ रुपैयाँमै १ घण्टासम्म प्रयोग गर्न मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज पनि उपलब्ध गराइएको छ ।
नेपाल टेलिकमले यस अफरमा नाइट प्याक, कम्बो प्याकेज, सीयूजी, एसएमएस तथा एफटीटीएच (फाइबर इन्टरनेट) सेवामा पनि नयाँ सुविधा र सुधार गरिएको जनाएको छ । कम्पनीका अनुसार यी सेवाहरूले ग्राहकलाई अझ सस्तो र सहज डिजिटल अनुभव प्रदान गर्नेछन् ।
ग्राहकहरूले आफूलाई आवश्यक पर्ने प्याकेजहरू मोबाइलबाट १४१५ डायल गरेर, नेपाल टेलिकमको आधिकारिक मोबाइल एप प्रयोग गरेर वा कम्पनीको वेबसाइटमार्फत विस्तृत जानकारी लिन तथा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । टेलिकमले नयाँ अफरमार्फत ग्राहक सन्तुष्टि वृद्धि गर्दै डिजिटल नेपाल अभियानलाई थप सशक्त बनाउने लक्ष्य राखेको जनाएको छ ।


























