जुम्ला चन्दननाथ । नगरपालिकाका १३ जना स्वास्थ्यकर्मीले ११ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । १३ जना स्वास्थ्यकर्मी मध्ये दुईजनाले मात्र दुई महिनाको तलबभत्ता पाएका छभने बाँकी ११ जनाले ११ महिनाको तबलभत्ता नपाउँदा समस्यामा परेको वरिष्ठ अनमी मेनका देवकोटाले बताइन् ।
समायोजनबाट नगरपालिकामा सुरुवा भई आएका १३ जना स्वास्थ्यकर्मीले गएको साउन महिनादेखि तलब नपाएको उनकाे भनाई छ । हिमाबाट २ जना, कनकासुन्दरीबाट ३ जना, तिलाबाट १ जना, सल्यान जिल्लाबाट १ जना, मुगुबाट १ जना र अन्य सातजना नगरपालिका भित्रैका स्वास्थ्यकर्मीले झण्डै वर्ष दिन हुन लागि सक्दा पनि तलबभत्ता नपाएको देवकोटाले गुनासो गरे ।
ऋण निकालेर खर्च चलाउनु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ११ महिनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला, देवकोटाले भने, 'कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन र धेरैपटक हारगुहार्दा पनि तलब दिदैनन् ।
देवकोटाकाअनुसार मासिक खर्चका लागि घरबाटै रकम माग्नु पर्ने बाध्यता छ । उनले भने, 'आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छौं ।'
स्वास्थ्यकर्मीले एघार महिनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले चाँडो भन्दा चाडो तलब भत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । तलब भत्ता नपाउदा एघार जना स्वास्थ्यकर्मी फाजिल हुनु परेको देवकोटाले बताए । उहाँले भने, 'हाजिर गरेका छौँ, तर तलब पाएका छैनौं ।'
काम गर्दा पनि तलब नपाउनु दुःख लाग्दो अवस्था रहेको उनले सुनाए । नगरपालिकाले मन्त्रालयमा बुझी रहेका छौं भनेर जवाफ दिने गरेको देवकोटाले भने । मन्त्रालयबाट तलब आएको छैन भन्ने जवाफ दिने गरिएको बताउँदै उने भने, 'जहाँबाट आएका हौँ त्यही जानु भन्छन् ।'
यता चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत सिताराम खड्काले जुम्लाको चन्दननाथ नगरपालिकाको मात्रै नभएर नेपालका १६० वटा स्थानीय तहको समस्या भएको बताए । उनले भने, 'जुम्लाको चन्दननाथ नगरपालिकाको मात्रै समस्या होइन, सबै ठाउँको समस्या यस्तै हो', '११ जना वरिष्ठ अनमी, एकजना एचए र एकजना अहेब अहिले फाजिल अवस्थामा छौं ।'
यो समस्या स्वास्थ्यकर्मी आफैले सृजना गरेका हुन् । जनप्रतिनिधिले आफ्ना मान्छेलाई भटाभट सहमति दिने गरेकाले दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी नगरपालिकामा भएकाले तलबभत्ता दिन नसकिएको उनको भनाई छ । दरबन्दी भन्दा बढी समायोजन भएर आएका हुनाले स्वास्थ्यकर्मी फाजिल भएको खड्काले बताए ।
स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसारको तलबभत्ता नपठाउँदा सबैलाई तलब दिन नसकिएको उनले स्वीकार गरेका छन् । १३ जनामध्ये दुईजना स्वास्थ्यकर्मीले दुई महिनाको तलब र दशैं खर्च पाएको उनको भनाई छ । त्यो कसरी दिइयो उनले भने, 'यस बारेमा मलाई थाहा छैन् । अर्थमन्त्रालयले रकम पठाएमा स्वास्थ्यकर्मीलाई तलबभत्ता दिन समस्या नहुने हाे ।'
तलब आउने भएकाले नआत्तिन उनले कर्मचारीलाई अनुरोध गरेका बताइन् ।




























