मुस्ताङ । हिमालपारि मुस्ताङका महिलाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् । घरपझोङ गाउँपालिका–३ स्याउङको आयोजना तथा घरपझोङ गाउँपालिका, सामाजिक विकास कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), पाइला नेपाल, विभिन्न आमा समूह, सुरक्षा निकायलगायतको समन्वयमा आज यहाँ ११५औँ अन्तरराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानत र सशक्तिकरण’ भन्ने उद्घोषसहित घरपझोङ गाउँपालिकाअन्तर्गत पाँचवटै वडाका महिलाहरूको सामूहिक उपस्थितिमा दिवस मनाइएको हो । थकाली र गुरुङ तथा अन्य मौलिक वेशभूषामा सजिएर महिलाहरू यो दिवस मनाउन उपस्थित भएका थिए ।
महिलामाथि हुने सबै प्रकारका विभेद, अन्याय र उत्पीडनका विरुद्धमा सशक्त आवाज बुलन्द गरी जिल्लाको ऐतिहासिक गाउँ स्याउङमा महिलाद्वारा र्याली निकालिएको थियो । महिलामाथि हुने हिंसा र विभेदका विरुद्ध लेखिएका ‘प्लेकार्ड’ र ‘ब्यानर’सहित महिलाहरूले र्यालीमा अधिकार प्राप्ति र लैङ्गिक समानताका लागि आवाज उठाएका छन् ।
जनकल्याण स्कुलको प्राङ्गणबाट स्याउङ गाउँको समाजघरसम्म भएको र्यालीमा सहभागीले महिलामाथि हुने विभेदविरुद्ध आवाज उठाएका घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना रानामगरले बताइन् ।
मुस्ताङमा यो समय कृषि र पर्यटनका लागि पाहुनाको आगमन बढेकाले सोका लागि भ्याइनभ्याइ छ । स्याउको बगैँचा व्यवस्थापनका साथै बर्खे अन्नबाली लगाउन हतार छ । हिउँदयामको जाडो सकिएर गर्मीयाम सुरु हुने यो बेलामा यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । यद्यपि यहाँका महिलाहरूले बर्सेनि मार्च ८ अर्थात् आज मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई महत्त्वकासाथ मनाउँदै आइरहेका उनको भनाइ छ ।
यहाँ आयोजित अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दुई जना ज्येष्ठ महिलालाई सम्मान गरिएको छ । घरपझोङ–३ की ८६ वर्षीया नर्साङमो थकाली रघरपझोङ–१ चिमाङकी ९० वर्षीया कान्छी थकालीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र गाउँपालिकाका उपाध्यक्ष रानामगरले नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।
प्रजिअ भुसालले मुस्ताङजस्तो भौगोलिक विकटता भएको जिल्लामा महिलाहरूको उत्साहजनक सहभागिताले महिला अधिकारी प्राप्तिका लागि सक्रिय रहेका जनाएको बताए । उनले महिला भएकै कारण वा पुरुष भएकै कारण कोही पनि लिङ्गका आधारमा भेदभाव हुन नहुने धारणा राखे ।
गाउँपालिकाकी उपाध्यक्ष रानामगरले महिलामाथि हुने सबै प्रकार विभेद र उत्पीडनको जरैदेखि अन्त्य हुनुपर्नेमा जोड दिइन् । अझै पनि हाम्रो समाजमा महिलामाथि विभेद र दमन हुने गरेका बताउँदै उहाँले महिला सशक्तिकरणका लागि शिक्षा र आर्थिक समृद्धिको पाटो मुख्य भएको धारणा राखिन् ।
स्याउ महिला समूहकी अध्यक्ष शान्ता थकालीले मुस्ताङका महिलाहरूले यो दिवसलाई विशेष रूपमा अपनाउँदै आइरहेका भन्दै यो अधिकार प्राप्ति र सशक्तिकरणको अभियान हो भनिन् । । दिवसले एकताको सन्देश प्रवाह गरेर महिला हकहित र अधिकारलाई प्रत्याभूति दिलाउन योगदान दिँदै आएको उनले जनाइन् ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा महिलाको स्तन क्यान्सरसम्बन्धी अभिमुखीकरण, यहाँ उत्पादित रैथाने बालीको परिकार बिक्री तथा प्रदर्शनी, स्वास्थ्य शिविर, ज्येष्ठ महिला सम्मान, प्रभातफेरी र्याली, सरसफाइ, हाजिरीजवाफ प्रतियोगिता र विभिन्न सांस्कृतिक नृत्यलगायत कार्यक्रम आयोजना गरिएको घरपझोङ गाउँपालिकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता थकालीले जानकारी दिइन् ।



























