काठमाडौं । युगाण्डामा शनिबारदेखि सुरु भएको वुमन्स डे कप टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
नामिबियाले डकवर्थ–लुइस (डीएल) नियमअनुसार नेपाललाई ६ विकेटले पराजित गरेको हो।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षा भएको थियो।
खेल पुनः सुरु भएपछि नामिबियालाई १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तोकिएको थियो, जुन उसले १ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गर्यो।
नामिबियाका मेकेलाए मातिलले सर्वाधिक २६ रन बनाउँदा अरास्ता डिरगार्ट १३ रनमा अविजित रहिन्। नेपालका लागि पूजा महतो, कविता जोशी, ईश्वरी विष्ट, र इन्दु बर्माले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर पूरा खेल्दै ९२ रनमा अलआउट भयो। नेपालको तर्फबाट सम्झना खड्काले १८, कविता जोशीले १६, पूजा महतोले १३, र ईश्वरी विष्टले अविजित १७ रन जोडिन्।
बलिङतर्फ नामिबियाका विल्का मति र मेकेलाए मतिले उत्कृष्ट प्रदर्शन गर्दै ३-३ विकेट लिए। केलन ग्रिनले २ तथा अरास्ता डिरगार्टले १ विकेट हात पारिन्।




























