राज्यप्रतिको भरोसा र विश्वासको जग बन्दै निर्वाचन

राज्यप्रतिको भरोसा र विश्वासको जग बन्दै निर्वाचन

भौगोलिक रूपमा नेपाल जस्तो विविधतायुक्त देशमा निर्वाचन सम्पन्न गराउनु केवल प्राविधिक कार्य मात्र नभई एउटा मानवीय र प्रशासनिक साहस हो । त्यसमा पनि तराई जस्तो सहज भूभाग र हिमालको जटिल भूभागमा एकैदिन चुनाव गराउनु सामान्य कार्य होइन ।

गत कात्तिकदेखि हिउँले अवरुद्ध भएको मुस्ताङ–डोल्पा सडक खण्ड निर्वाचनकै लागि फागुनको हिउँ पन्छ्याएर सञ्चालन गर्न खोजिएको छ । यसले राज्यले नागरिकको संवैधानिक हकप्रति देखाएको जिम्मेवारीबोधलाई उजागर गरेको छ । मुस्ताङको सबैभन्दा पछि पत्ता लागेको विकट साङ्ता गाउँका ३९ मतदाताको चुनावी सहभागितालाई सरकारले प्राथमिकतामा राखेर तयारी थालेको छ । भौगोलिक जटिलताबिच ती ३९ जनाको मतले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछ ।

नेपाली लोकतन्त्रको मुख्य विशेषता समावेशिता र पहुँच हो । जोमसोमदेखि ४० किलोमिटर टाढाको साङ्ता गाउँका १३ घरधुरीका लागि हिमाली आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरिनुले ‘मताधिकारबाट कोही पनि नछुटून्‌’ भन्ने लोकतान्त्रिक मान्यतालाई सार्थक बनाएको छ । जाडो छल्न गाउँ छोडेर पोखरा, काठमाण्डु वा जोमसोम झरेका नागरिकहरू पुनः हिउँको बाटो छिचोल्दै आफ्नो गाउँ पुगेर भोट हाल्ने तयारीमा जुट्नुले लोकतन्त्रप्रतिको अगाध आस्था र विश्वासलाई देखाएको छ ।

लोकतन्त्रको साँचो अर्थ बहुमतको शासन मात्र नभई दुर्गमका नागरिकहरूको अस्तित्व स्वीकारिनु पनि हो । लाखौं मतदाता रहेको देशमा संख्यात्मक हिसाबले साङ्ताका ३९ जना थोरै देखिए पनि मताधिकारको सम्मानका हिसाबले ज्यादै अर्थपूर्ण हो । देशको छुट्टै विशेषतायुक्त भूभागका नागरिकको प्रतिनिधित्वले देशको विशेषतालाई सम्मान गर्नेछ । मतदाताको १–१ मतले देशको आगामी नेतृत्व चयनमा महत्व राख्ने भएकाले दुर्गमको मतको पनि काठमाण्डुकै मतजत्तिकै अर्थ राख्छ ।

जब राज्यले ४ हजार ५०० मिटरको उचाइमा हिउँ पन्छ्याएर मतदान केन्द्रसम्म पुग्ने बाटो बनाउँछ, तब नागरिकमा राज्य छ भन्ने भरोसा जाग्छ । राज्यप्रतिको भरोसा र विश्वास नै लोकतन्त्रको सबैभन्दा बलियो जग हो ।

हिमाली क्षेत्रमा निर्वाचन गराउनु निकै खर्चिलो र चुनौतीपूर्ण छ । मौसमको अनिश्चितता, भौगोलिक विकटता र पातलो बस्तीका बिच सुरक्षाकर्मी र कर्मचारीहरू खटिनु सहज हुँदैन । तर लोकतन्त्रको मूल्य कुनै आर्थिक लाभहानिको तराजुमा जोख्न सकिँदैन, निर्वाचन नागरिकको अधिकार र राज्यको कर्तव्यको एउटा कसी हो । साङ्ता गाउँका रित्ता घरहरूमा लागेका ताल्चा फागुन २१ गते खुल्दा लोकतन्त्रको उत्सव फर्किनेछ ।

हिउँ पन्छ्याएर साङ्तासम्म पुग्ने सडकले लोकतन्त्रको अभ्यासलाई दुर्गमसम्म पुर्‍याएको छ । राज्यले दुर्गमका नागरिकलाई मतदानका लागि देखाएको सक्रियतासँगै निर्वाचनपछि पनि उनीहरूको विकास, स्वास्थ्य र शिक्षाका लागि यस्तै तत्परता देखाउनु आवश्यक छ । साङ्ताका मतदाताले हिउँ छिचोल्दै हालेको मतले दिने नेतृत्वले त्यहाँको विकटतालाई विकासमा बदल्न सक्यो भने मात्र हिउँ पन्छ्याएको वास्तविक सार्थकता रहनेछ । निर्वाचनको तयारीले हिमाली भेगका नागरिकलाई राष्ट्रिय अपनत्वको अनुभूति गराएको छ ।

निर्वाचनको उत्सवले एकपल्ट सर्वभौम जनतालाई अधिकारसम्पन्न बनाउँदै आफ्नो भविष्य निर्माणको मौका दिएका छन् । जसमा तराई, पहाड, हिमाल, पूर्व, पश्चिम, गाउँ, शहर सबैको सहभागिता सुनिश्चित हुँदैछ । कुनै भेदभाव र पक्षपात विना निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सरकार र निर्वाचन आयोगको कर्तव्यको अनुभूति साङ्ता गाउँका मतदाताले पनि पाउने भएका छन् ।

मिति २०८२ फागुन १५ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।