काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर भएको छ ।
पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको रकममध्ये दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार (चैत २३) विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार संलग्न रहेको दाबी गरेको छ ।
अभियोगपत्र अनुसार पदीय मर्यादा विपरीत कार्य गर्दै आर्जन गरेको सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिसँग ऋण लिएको देखाइएको छ । अनुसन्धानबाट बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको पुष्टि भएको अख्तियारको दाबी छ । सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न अख्तियारको छ । अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ ।
पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ । सम्पत्ति शुद्धीकरणमा सहयोग गर्न मतियारको भूमिकामा रहेको भन्दै पौडेल पत्नी हुमा कुमारी उपाध्याय, परिवारका सदस्यहरू जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी कायम गरिएको छ । उनीहरूलाई मुख्य अभियुक्त पौडेललाई हुने सजायको आधा सजाय माग गरिएको छ ।
पौडेल गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत आठौँ तहमा कार्यरत थिए । यसअघि पनि लेखा अधिकृत झलक पौडेलविरुद्ध ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । अख्तियारबाट अनुसन्धान गर्दा ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ सम्पत्तिको स्रोत पुष्टि नभएको दाबी अदालतमा लिइएको छ ।
२०५४ माघ ८ गते सेवा प्रवेश गरेका शर्माले ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अख्तियारबाट अनुसन्धान गरिएको थियो । शर्माले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको ठहर अख्तियारको थियो । अवैधरुपमा आर्जित सम्पत्ति पत्नी हुमा कुमारीको नाममा राखेर सम्पत्ति विवरणमा शर्माले नखुलाएको दाबी अख्तियारको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























