रात्रिकालीन बस व्यवस्थापनले नागरिकलाई सुरक्षा र सहजता

रात्रिकालीन बस व्यवस्थापनले नागरिकलाई सुरक्षा र सहजता

राजधानी शहर काठमाडौँको एउटा पुरानो र गम्भीर समस्या भनेकै साँझ ढल्नेबित्तिकै सार्वजनिक यातायातको अभाव हुनु हो । शहर कहिल्यै सुत्दैन भन्ने विश्वव्यापी मान्यता भए पनि काठमाडौँको हकमा राति हुनेबित्तिकै सार्वजनिक सवारीसाधनहरू हराउने प्रवृत्तिले आमनागरिकले निकै कष्ट भोग्दै आएका थिए । यस्तो समस्याबिच काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन बस सेवा सुरु गर्नु अत्यन्तै प्रशंसनीय र दूरगामी महत्वको कदम बनेको छ ।

सार्वजनिक यातायातको उपलब्धता केवल यात्राको सुविधा मात्र होइन, राज्यको उत्तरदायित्वसँग पनि जोडिएको छ । रातिको समयमा कामबाट फर्किने मजदुर, अस्पतालमा रहेका बिरामीका आफन्त, रात्रिकालीन सत्रमा काम गर्ने कर्मचारी र अध्ययनरत विद्यार्थीहरू सार्वजनिक सवारीसाधन नपाउँदा चर्को मूल्य तिरेर ट्याक्सी वा निजी साधनसाधन प्रयोग गर्न बाध्य थिए ।

कतिपय अवस्थामा साधन नै नपाएर पैदलै असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता थियो । महानगरले लगनखेल–बूढानीलकण्ठ र थानकोट–एयरपोर्ट जस्ता मुख्य रुटहरूबाट सुरु गरेको विद्युतीय बस सेवाले नागरिकको ठूलो आर्थिक भार कम गर्ने मात्र होइन, समयको समेत बचत गरिदिएको छ ।

रात्रिकालीन बस सञ्चालनको कदमको सबैभन्दा सबल पक्ष भनेको स्रोतसाधनको कुशल व्यवस्थापन हो । कुनै नयाँ भारी लगानी वा थप जनशक्ति भर्ना नगरीकन मौजुदा स्रोतसाधन र जनशक्तिलाई नै वैज्ञानिक ढङ्गले परिचालन गरेर सेवा सुरु गर्नुले इच्छाशक्ति भए सम्भव रहेको उदाहरण पेश गरेको छ ।

साझा यातायातका विद्युतीय बसहरू र महानगरकै जनशक्तिको समन्वयले शहरलाई जीवन्त बनाउने आधार तयार पारेको छ । सीमित स्रोतबाट अधिकतम नागरिक लाभ सिर्जना गर्नु नै असल शासनको विशेषता हो ।

रात्रिकालीन यात्रामा सबैभन्दा ठूलो चुनौती सुरक्षा हो । विशेषगरी महिला, किशोरी र वृद्धवृद्धाहरू रातिको समयमा यात्रा गर्दा विभिन्न किसिमका दुर्व्यवहार र असुरक्षाको जोखिममा रहन्छन् । महानगरले सुरक्षा संवेदनशीलतालाई बुझेर बसहरूमा नगर प्रहरी समेत खटाउने व्यवस्था मिलाउनुले नागरिकमा राज्यप्रतिको भरोसा बढाएको छ । सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन हुने यस्ता सवारीसाधनले यात्रुहरूलाई निर्धक्कसँग हिँड्न सक्ने वातावरण निर्माण गर्दछ । यसले केवल सुरक्षा मात्र होइन, शहरको रात्रिकालीन अर्थतन्त्रलाई चलायमान बनाउन समेत मद्दत पुर्‍याउनेछ ।

यातायात सेवा सञ्चालन हुनु मात्रै ठूलो कुरा होइन, यसको दिगोपन र प्रभावकारिता अर्को महत्वपूर्ण पाटो हो । उत्तर–दक्षिण १६ किलोमिटर र पूर्वपश्चिम २० किलोमिटरको रुटमा चल्ने यी बसहरूले काठमाडौँका प्रमुख अस्पतालहरू (वीर, टिचिङ, पाटन, गंगालाल आदि) लाई जोडेका छन् । यसले स्वास्थ्य सेवा लिन आउने सर्वसाधारणलाई निकै ठूलो राहत पुग्ने देखिन्छ । अहिले ४ वटा बसबाट सुरु गरिएको सेवालाई आगामी दिनमा यात्रुको चाप र आवश्यकताका आधारमा थप रुटहरूमा विस्तार गर्दै लैजानु आवश्यक छ ।

महानगरले सुरु गरेको प्रयासले अन्य छिमेकी नगरपालिकाहरू र नेपाल सरकारलाई पनि एउटा सकारात्मक दबाब सिर्जना गरेको छ । काठमाडौँ उपत्यकाको समग्र यातायात प्रणालीलाई एकीकृत गरी रात्रिकालीन सेवालाई अनिवार्य बनाउनु आजको आवश्यकता हो । यसका लागि सडक बत्तीहरूको उचित व्यवस्थापन, सीसी क्यामेराको निगरानी र सडकको अवस्थामा सुधार गर्नु उत्तिकै जरुरी छ । राति सार्वजनिक यातायात उपलब्ध हुँदा निजी सवारीसाधनको प्रयोग कम हुन गई इन्धन खपत र वातावरणीय प्रदूषणमा समेत कमी आउनेछ ।

काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्य नागरिक केन्द्रित शासनको एउटा उत्कृष्ट नमुना हो । राति ८ बजेपछि महँगोमा यात्रा गर्नुपर्ने वा हिँड्न डराउनुपर्ने अवस्थाको अन्त्यका लागि कोसेढुङ्गा साबित हुन सक्छ । नागरिकलाई सुरक्षा र सहजता प्रदान गर्ने अभियानलाई निरन्तरता दिनु र यसको प्रभावकारी अनुगमन गर्नु अबको चुनौती हो ।

स्रोतको सही व्यवस्थापन र परिचालनबाट नागरिकलाई कसरी प्रत्यक्ष लाभ दिन सकिन्छ भन्ने कुरामा रात्रिकालीन यातायात सेवाले एउटा स्पष्ट सन्देश दिएको छ । बस सेवालाई थप व्यवस्थित र भरपर्दो बनाउँदै शहरलाई २४ घण्टै चलायमान र सुरक्षित बनाउनेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

मिति २०८३ बैसाख ३ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।