हाम्रो व्यक्तित्व जन्मकै आधारमा कति निर्धारित हुन्छ ?

हाम्रो व्यक्तित्व जन्मकै आधारमा कति निर्धारित हुन्छ ?

हाम्रो व्यक्तित्वलाई निर्माण गर्ने अत्यन्तै जटिल शक्तिहरू र हाम्रो जीनले हामीलाई कस्तो बनाउँछ र कस्तो बनाउँदैन भन्नेबारे थप तथ्यहरू उजागर गर्ने नयाँ अनुसन्धानको गहिराइमा पुग्ने प्रयास गरिएको छ ।

सन् २००९ मा अब्देलमालेक बायौटले इटालीको ट्रिएस्टेमा सडकमा आफूलाई गिज्याउने एक व्यक्तिको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ९ वर्षको जेल सजाय भोग्नुपर्ने भयो । सजाय कम गराउने उद्देश्यले उनका वकिलले एउटा असामान्य कानुनी तर्क अघि सारे । उनका ग्राहकको डीएनएमा ‘वारियर जीन’ (योद्धा जीन) को उपस्थिति देखिन्छ । यो त्यस्तो उत्परिवर्तन हो, जसलाई दशकौँको वैज्ञानिक अनुसन्धानले आक्रामक व्यवहारसँग जोडेको छ ।

यसकारण यो तर्क गरियो कि उनी आफ्नो कार्यका लागि पूर्णरूपमा जिम्मेवार हुन सक्दैनन् । यो पुनरावेदन सफल भयोः बायौटको सजायबाट १ वर्ष घटाइयो ।सन् १९९० को दशकदेखि हिंसक व्यवहार र ‘मोनोअमाइन अक्सिडेज ए’ वा ‘एमएओए’ नामक जीनको भेरियन्टबिच कुनै प्रकारको सम्बन्ध रहेको प्रमाणहरू संक्लन भएका थिए । सन् २००४ सम्म आइपुग्दा यसले मिडियामैत्री नाम ‘वारियर जीन’ पाएको थियो ।

यद्यपि त्यसयता जीनले गुण र व्यवहारलाई कसरी प्रभाव पार्छ भन्ने हाम्रो बुझाइ धेरै गहिरिएको छ । नेदरल्याण्ड्सको एम्स्टर्डम यूएमसीमा मनोरोग र जटिल गुण आनुवंशिकीकी सहायक प्राध्यापक आयसु ओक्बे भन्छिन्, ‘सुरुमा मानिसहरूले सोचेका थिए कि व्यवहारहरू धेरै ठूलो प्रभाव पार्ने केही जीनहरूद्वारा प्रभावित हुन्छन् तर त्यो कुरा पूर्णरूपमा गलत सावित भइसकेको छ ।’ यसको सट्टा विगत १५ वर्षमा एक अत्यन्तै सूक्ष्म चित्र देखापरेको छ । उचाइ जस्ता उच्च रूपमा वंशानुगत मानिएका गुणहरू समेत जीनोममा पहिचान गर्न पहिले सोचिएभन्दा धेरै जटिल प्रमाणित भएका छन् ।
अहिले भने ठूलो स्तरको आनुवंशिकी अध्ययनका नयाँ विधिहरूले यस चित्रलाई फराकिलो बनाउन थालेका छन् । हाम्रा जीनहरूले हामीलाई कस्तो व्यक्ति बनाउँछन् र कस्तो बनाउँदैनन् भन्नेबारे थप रहस्य खोल्दै यसले मानव प्रकृतिलाई आकार दिने जटिल शक्तिहरूबारे नयाँ अन्तर्दृष्टि प्रदान गरिरहेको छ ।

त्यो पुरानो प्रश्न

हाम्रो स्वभाव र जीवनको मार्ग कुन हदसम्म जन्ममै निर्धारित हुन्छ भन्ने कुरामा मानिसहरू लामो समयदेखि मोहित छन् । तैपनि ‘व्यक्तित्व’ अर्थात् विचार, भावना र दृष्टिकोणको तुलनात्मक रूपमा स्थिर ढाँचा जसले व्यक्ति निर्माण गर्छ, यसको स्रोत पत्ता लगाउन गाह्रो परिरहेको छ । ‘प्रकृति वा पालनपोषण’को प्रश्नलाई यसको वर्तमान अर्थमा अंग्रेजी बहुमुखी प्रतिभाका धनी फ्रान्सिस गाल्टनले लोकप्रिय बनाएका थिए, जसले सन् १८७५ मा जुम्ल्याहाहरूमा गुणहरूको अध्ययन गर्ने तरिका विकास गर्न मद्दत गरे । तर उनका विधिहरू प्रारम्भिक थिए र सन् १९२० को दशकसम्म वैज्ञानिकहरूले १००% डीएनए मिल्ने ‘आइडेन्टीकल’ जुम्ल्याहा र ५०% मात्र डीएनए मिल्ने ‘फ्राटर्नल’ जुम्ल्याहाहरूबिचको समानता तुलना गर्न सुरु गरेका थिएनन् ।

त्यसयता जुम्ल्याहा अध्ययनहरू लोकप्रिय रहँदै आएका छन् । आज वैज्ञानिकहरू व्यक्तित्वमा ५ वटा व्यापक आयामहरू हुन्छन् भन्ने धारणामा सहमत छन्‌ः खुलापन, इमानदारी, बहिर्मुखीपन, सहमत हुन सक्ने गुण र न्युरोटिसिज्म (यसलाई प्रायः ‘द बिग फाइभ’ व्यक्तित्व गुण भनिन्छ) र धेरै जुम्ल्याहा अध्ययनहरूले यी व्यक्तित्व आयामहरू आनुवंशिक रूपमा सर्छन् कि सर्दैनन् भनेर परीक्षण गरेका छन् । सन् १९५८ र २०१२ बिच गरिएका २ हजार ५०० भन्दा बढी जुम्ल्याहा अध्ययनहरूको सन् २०१५ को एक विस्तृत विश्लेषण (जसमा लगभग १८ हजार जटिल मानवीय गुणहरू समेटिएका थिए) ले अपेक्षा गरे अनुसार नै के पायो भने ‘आइडेन्टीकल’ जुम्ल्याहाहरू सामान्यतया ‘फ्राटर्नल’ जुम्ल्याहाभन्दा बढी समान हुन्छन् तर उनीहरूको व्यक्तित्व निश्चित रूपमा दुरुस्तै भने हुँदैन ।

स्वभाव वा व्यक्तित्वको वर्णन गर्ने ५६८ वटा गुणहरूका लागि गरिएको अध्ययनले ४७% भिन्नताहरू आनुवंशिक भिन्नताका कारण हुने पत्ता लगायो । बाँकी भाग वातावरणीय प्रभावहरूद्वारा निर्धारित हुने निष्कर्ष निकालियो । अन्य अध्ययनहरूले पनि यसलाई समर्थन गर्छन्, व्यक्तित्वमा हुने भिन्नताको करिब ४०%–५०% मात्र आनुवंशिक हुन्छ । जुम्ल्याहा अध्ययनहरू सधैँ एक अनिश्चित कला रहेका छन्, जुन प्रायः जुम्ल्याहा र अन्य परिवारका सदस्यहरू बिचको भिन्नतामा आधारित अनुमानमा निर्भर हुन्छन् । तर सन् २०१० को आसपास आनुवंशिकीमा भएका ठूला उपलब्धिहरूले व्यक्तित्व भिन्नता मापन गर्न इच्छुक वैज्ञानिकहरूका लागि अन्य रोमाञ्चक नयाँ बाटाहरू खोलिदिए ।

हराइरहेको वंशाणुगतताको समस्या

मानव जीनोम एउटा जटिल संरचना होः यसमा २३ जोडी क्रोमोजोम हुन्छन्, जसमा प्रत्येकमा करिब २० हजार जीन हुन्छन् । यी जीनहरू थप करिब ३ अर्ब ‘बेस पेयर्स’ (जीनोमको सबैभन्दा सानो एकाइ) मा विभाजित हुन्छन्, जसलाई सामान्यतया एउटा विशेष क्रममा खुल्ने अक्षरहरूको जोडीको रूपमा बुझिन्छ।

सबै मानिसको ९९.९% डीएनए समान हुन्छ, जसको अर्थ जीनोमको मात्र ०.१% भागले हाम्रो भिन्नता निर्धारण गर्छ । यसले वैज्ञानिकहरूले अध्ययन गर्नुपर्ने क्षेत्रलाई सीमित गर्न मद्दत गरे पनि अझै पनि लाखौँ बेस पेयरहरू केलाउन बाँकी नै रहन्छ । सन् २००० को दशकमा जीनोमिक डाटा सस्तो र सजिलै उपलब्ध भए तापनि यसभित्र हाम्रा भिन्नताहरूको स्रोत पत्ता लगाउन अपेक्षा गरेभन्दा धेरै गाह्रो सावित भयो । विगत १५ वर्षमा ‘जीनोम–वाइड एसोसिएसन’ अध्ययनहरूको ठूलो लहर आएको छ । यो यस्तो विधि हो, जसले मानवमा फरक हुन सक्ने जीनोमका लाखौँ साना भागहरूको परीक्षण गर्छ र ती र विभिन्न व्यक्तित्व गुणहरूबिच सम्बन्ध पत्ता लगाउने प्रयास गर्छ ।

यी अध्ययनहरूका सुरुवाती दिनहरूमा व्यक्तित्वसँग सम्बन्धित डीएनए भेरियन्टहरू पहिचान गर्न संघर्ष गर्नुपरेको थियो । हामी अहिले यसको एउटा कारण बुझ्छौँः मानवीय गुणहरू ‘पोलिजेनिक’ हुन्छन्, जसमा धेरै फरक–फरक आनुवंशिक भिन्नताहरूले स–सानो प्रभाव पार्छन् र ती पुरै जीनोमभरि थपिँदै जान्छन् । व्यक्तित्व जस्ता जटिल गुणहरूका लागि, यसको प्रभाव हजारौँ डीएनए भेरियन्टहरूमा फैलिएको हुनसक्छ ।
तर विभिन्न डीएनए भेरियन्टहरूको दायरा संयोजन गर्दा पनि व्यक्तित्वमा पर्ने प्रभाव अनुमान गरिएभन्दा कम नै रहन्छ । ‘बिग फाइभ’ व्यक्तित्व गुणहरूका लागि वंशाणुगत अनुमानहरू हाल ९%–१८% सम्म छन्, जुन जुम्ल्याहा अध्ययनले सुझाव दिएको ४०% भन्दा धेरै कम हो । यो हराइरहेको वंशाणुगततालाई केले स्पष्ट पार्छ त ?

हुनसक्छ यी अध्ययनहरूमा सहभागीहरूको संख्या बढाएर र विभिन्न जीनहरूले कसरी अन्तर्क्रिया गर्छन् भन्ने हाम्रो बुझाइ बढेसँगै यसको डिजाइनमा सुधार ल्याउँदा अझ बलियो आनुवंशिक प्रभावहरू फेला पर्नेछन् ।
आजको दिनमा भने जुम्ल्याहा अध्ययन र जीनोम–वाइड एसोसिएसन अध्ययनबाट प्राप्त वंशाणुगत अनुमानहरू तुलना गर्दा कुन सत्य हो भन्न गाह्रो छ भन्छिन् ओक्बे । ‘यो सम्भवतः यी दुवै बिचमा कतै छ ।’

‘पालनपोषण’ बारे नि ?

यदि प्रकृतिको योगदान हामीले पहिले सोचेभन्दा कम हुन सक्छ भने हाम्रो व्यक्तित्वको ठूलो हिस्सा पालनपोषणलाई श्रेय दिन लोभ लाग्न सक्छः हामी हुर्किएको परिस्थिति, हाम्रो वरिपरि रहने मानिसहरू र हाम्रो अद्वितीय इतिहास निर्माण गर्ने जीवनका घटनाहरू । यद्यपि हाम्रो वातावरणले व्यक्तित्वलाई कसरी आकार दिन्छ भन्ने कुरा पनि उत्तिकै जटिल रहेको देखिन्छ । अध्ययनहरूले समयसँगै व्यक्तित्व परिवर्तन हुन सक्छ भन्ने देखाउने हुनाले तपाईंले सोच्नुभयो होला कि चिठ्ठा जित्दा वा खुट्टा गुमाउँदा व्यक्तित्वमा परिवर्तन आउन सक्छ । तर जीवनका ठूला र एकपटक हुने घटनाहरूले हामी को हौँ भन्ने कुरामा नगन्य प्रभाव मात्र पार्ने देखिन्छ । हामी कसरी हुर्कियौँ वा हाम्रा सामाजिक अन्तर्क्रियाहरू जस्ता कारकहरूले पनि व्यक्तित्व भिन्नताको सानो हिस्सा मात्र ओगट्छन् भन्ने कुरा अध्ययनहरूले पटक–पटक देखाएका छन् । विवाहले मानिसलाई थोरै कम खुला बनाउन सक्छ र बच्चाको जन्मले बहिर्मुखीपनमा सामान्य कमी ल्याउन सक्छ, तर व्यक्तिगत रूपमा यी घटनाहरूले हामी को बन्छौँ भन्ने कुरामा धेरै निर्धारण गर्दैनन् ।

बाल्यकालमा हुने निश्चित प्रकारका आघातहरूले पछिल्लो जीवनमा मनोविकृति र कमजोर संज्ञानात्मक कार्यक्षमताको भविष्यवाणी गर्न सक्ने पाइएको छ, जुन व्यक्तित्वका भेरिएबलहरू जस्तै बढ्दो न्युरोटिसिज्ममा प्रकट हुन सक्छ । तर वयस्क अवस्थामा अनुभव गरिएको प्रतिकूलताले भने धेरै कम असर पार्ने देखिन्छ । ‘यस अनुसन्धान क्षेत्रमा यो ठूलो आश्चर्यको कुरा हो कि यदि वयस्क अवस्थामा तपाईंलाई कुनै ठूलो पीडादायी जीवन घटना आइपर्‍यो भने यसले व्यक्तित्वमा त्यति ठूलो छाप छोड्दैन,’ अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस अर्बाना–क्याम्पेनका मनोविज्ञानका प्राध्यापक ब्रेन्ट रोबट्र्स भन्छन् ।
लोकप्रिय संस्कृतिमा आघातको भाष्य निकै प्रिय छ अर्थात् हामीसँग हुने नराम्रा कुराहरूको परिणामस्वरूप हामीमा व्यक्तिगत विकास हुन्छ भन्ने धारणा । तर रोबट्र्स भन्छन्, ‘आघातले तपाईं को हो भन्ने कुरा निर्धारण गर्दैन ।’

हामीले अनुभव गर्ने पहिलो वातावरण, अर्थात् आमाको गर्भभित्रको अवस्थाबारे के छ त ? अनुसन्धानहरूको बढ्दो संख्याले के सुझाव दिन्छ भने गर्भावस्थामा आमाले भोग्ने तनावले नजन्मिएको बच्चाको स्वभावमा प्रभाव पार्न सक्छ, यसलाई ‘फिटल प्रोग्रामिङ’ भनिने परिकल्पना गरिएको परिघटनाको हिस्सा मानिन्छ । उदाहरणका लागि सन् २०२२ को एक अध्ययनले तनावमा बढी उतारचढाव अनुभव गरेका आमाहरूका शिशुहरूमा ३ महिनाको उमेरमा बढी डर, उदासी र पीडा प्रकट भएको पायो । यो किन हुन्छ भन्ने अझै स्पष्ट बुझाइ छैन, यद्यपि एक ‘एपिजनेटिक’ संयन्त्र, जसको अर्थ डीएनए स्वयंमा नभई जीनको अभिव्यक्तिमा हुने परिवर्तन हो, यसका लागि विचारधीन उम्मेदवारहरू मध्ये एक हो ।

समग्रमा भने अनुसन्धानकर्ताहरूले के निष्कर्ष निकालेका छन् भने व्यक्तित्व भिन्नताहरू ‘पोलिजेनिक’ हुनुका साथै ‘पोलि–वातावरणीय’ पनि हुन्छन् । जीनोमभरिका धेरै डीएनए भेरियन्टहरू मिलेर कुनै गुण बन्नु जस्तैः हाम्रा जीवनका प्रत्येक अनुभवहरूले ससानो प्रभाव पार्छन्, जसले मिलेर ठूलो प्रभाव पार्छ। आनुवंशिक र वातावरणीय प्रभावहरूले हामीले अझै पूर्णरूपमा बुझ्न नसकेका तरिकाहरूमा पनि अन्तर्क्रिया गर्छन् । एक हिसाबले वातावरणले निश्चित आनुवंशिक झुकावहरूलाई सक्रिय वा निष्क्रिय पार्न सक्षम देखिन्छ । जर्मनीको बिएलेफिल्ड युनिभर्सिटीको मनोविज्ञान विभागकी अनुसन्धान सहायक जाना इन्स्टिन्स्के भन्छिन्, ‘आनुवंशिक झुकाव हुनुको अर्थ यो होइन कि हरेक वातावरणमा मानिसहरूले उस्तै व्यवहार गर्छन् ।’

समाधानको बाटो

यी अत्यन्तै कठिन समस्याहरू हुन् तर कम्तीमा आनुवंशिकीको क्षेत्रमा वैज्ञानिकहरूले पछिल्लो जीनोम–वाइड एसोसिएसन अध्ययनमार्फत सफलता पाइरहेको दाबी गरेका छन् । यसको मुख्य कडी ? सहभागीहरूको संख्यामा भारी वृद्धि, जसमा पछिल्लो समय लाखौँ मानिसहरूको आनुवंशिक तथ्यांक एकैसाथ विश्लेषण भइरहेको छ । ओक्बे भन्छिन्, ‘अहिले मात्र हामीसँग पर्याप्त संख्यामा व्यक्तिहरू र जीनोटाइप नमूनाहरू छन् । यति धेरै ससाना प्रभावहरू भएको अवस्थामा, ती पत्ता लगाउन तपाईंलाई वास्तवमै धेरै ठूलो नमूना चाहिन्छ ।’

विगत १ दशकमा गरिएका अध्ययनहरूले ‘बिग फाइभ’ व्यक्तित्व गुणहरूसँग सम्बन्धित सयौँ डीएनए भेरियन्टहरू फेला पारेका छन् । अमेरिकाको येल युनिभर्सिटीका मनोरोगका सहायक प्राध्यापक डेनियल लेभी भन्छन्, ‘अहिलेको धेरै ध्यान बढीभन्दा बढी मानिसहरूको जीनोम संकलनमा छ, ताकि हामी थप जीनहरू पत्ता लगाउन सकौँ र अरूले गरेका काममा थप विकास गर्न सकौँ ।’ यद्यपि गैर–युरोपेली मूलका मानिसहरूको थप अध्ययन आवश्यक छ, लेभी थप्छन् । ‘हामीले एउटा समूहमा मात्र ध्यान केन्द्रित गर्दा धेरै महत्वपूर्ण सांस्कृतिक भिन्नताहरू छुटाउनेछौँ,’ उनले भने ।

हाम्रो आनुवंशिक कोडका धेरै पानाहरूमा रहेका साना साना परिवर्तनहरूले व्यक्तित्वले कसरी आकार लिन्छ भन्ने बारेमा के भन्छन् भन्ने कुरा ठ्याक्कै बुझ्न हामी अझै टाढा छौँ । तर केही रोचक निष्कर्षहरू अहिले नै देखा पर्न थालेका छन् । उदाहरणका लागि लेभीको अध्ययनले सुझाव दियो कि ‘सीआरएचआर१’ शरीरको तनाव प्रतिक्रियाको नियमनसँग सम्बन्धित जीन स्नायु प्रणालीको तन्तुहरूमा ‘न्युरोटिसिज्म’सँग कडा रूपमा जोडिएको छ । यो जीन यसअघि डिप्रेसन, एन्जाइटी र ओसीडी जस्ता मनोरोगहरूसँग जोडिएको थियो, जुन सबै न्युरोटिसिज्मसँग पनि सम्बन्धित छन् । यसले के सुझाव दिन्छ भने यो व्यक्तित्व गुण शरीरले प्राकृतिक रूपमा तनावमा कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरासँग नजिकबाट जोडिएको छ ।

अहिले ‘पियर–रिभ्यु’ भइरहेको अर्को बहुप्रतिक्षित अध्ययनले व्यक्तित्वको केन्द्र मस्तिष्कको ‘प्रिफ्रन्टल कर्टेक्स’मा रहेको सिद्धान्तहरूका लागि प्रमाणहरू प्रदान गर्दछ, मस्तिष्कको यो भाग योजना र निर्णय गर्ने जस्ता जटिल कार्यहरूका लागि जिम्मेवार हुन्छ । यसले के पाउँछ भने सबै ‘बिग फाइभ’ गुणहरूका लागि (सहमत हुन सक्ने गुणबाहेक) मस्तिष्कको यस भागमा व्यक्त हुने जीनहरूमा सम्बन्ध प्रगाढ छ । चाखलाग्दो कुरा त के छ भने अध्ययनका अनुसार डोपामिनर्जिक न्युरोनहरू सबैभन्दा समृद्ध न्युरोन प्रकारहरूमा नपरेकाले यसले व्यक्तित्वका ती न्युरोबायोलोजिकल सिद्धान्तहरूलाई चुनौती दिन सक्छ, जसले बहिर्मुखीपन र खुलापनलाई मध्यस्थता गर्न डोपामाइनको ठूलो भूमिका रहेको मान्छन् ।

धेरै सतर्कता र अज्ञात कुराहरू अझै बाँकी छन्, यहाँसम्म कि हिंसा र ‘वारियर जीन’ बिचको सम्बन्ध जस्ता व्यावहारिक आनुवंशिकीका सबैभन्दा धेरै अध्ययन गरिएका क्षेत्रहरूमा पनि । अध्ययनहरूले के संकेत गर्छन् भने पुरुषहरूको केही समूहमा निश्चित मध्यस्थकर्ता जीन र निश्चित वातावरणीय जोखिम कारकहरू (जस्तैः दुर्व्यवहारपूर्ण पालनपोषण) को उपस्थिति दुवैले निश्चित परिस्थितिहरूमा हिंसक व्यवहारको सम्भावना बढाउन सक्छ तर परिणामहरू स्पष्ट हुन अझै बाँकी छन् ।

अहिलेसम्म मानव व्यवहारलाई केही मुट्ठीभर जीन वा जीवनका घटनाहरूमा सीमित गर्ने प्रयासहरू असफल भएका छन् । मानिसहरू अपेक्षा गरेभन्दा धेरै जटिल रहेछन् भन्ने प्रमाणित भएको छ ।
‘सबै कुराभन्दा माथि के देखिन्छ भने मानवीय अवस्था परिवर्तनशील छ,’ इन्स्टिन्स्के भन्छिन्, ‘यस्तो होइन कि यदि तपाईंसँग निश्चित आनुवंशिक झुकाव छ भने तपाईं आफ्नो पूरै जीवनभर सधैँ एउटै तरिकाले व्यवहार गर्नुहुनेछ ।’ (बीबीसीबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।