काठमाडौं । नेपाल ‘ए’ टोलीले त्रिकोणात्मक अभ्यास एकदिवसीय सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।
शनिबार माथिल्लो मुलपानी मैदानमा भएको वर्षाले प्रभावित खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डकवर्थ–लुइस–स्टर्न (डिएलएस) मेथड अनुसार ९ रनले पराजित गरेको हो । यसअघि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई पहिलो भेटमा ४५ रनले तथा अमेरिकालाई ३ विकेटले हराएको थियो ।
स्कटल्याण्डले दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३४.५ ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । लामो समयसम्म खेल पुनः सुरु हुन नसकेपछि डिएलएस मेथडमार्फत नेपाल विजयी घोषित भयो ।
नेपाल ‘ए’ को जितमा प्लेयर अफ द म्याच सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा ९ चौकासहित अविजित ८३ रन बनाए । उनले इशान पाण्डेसँग तेस्रो विकेटका लागि १०३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । इशानले ५३ बलमा ७ चौकासहित ५० रन बनाए ।
त्यस्तै तृतराज दासले २४ रन, बसिर अहमदले २० रन तथा मयान यादवले १२ रनको योगदान दिए । स्कटल्याण्डका मार्क वाट, ब्राड करि, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि ओपनर जर्ज मुन्सेले ५१ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रन बनाए । माइकल इङ्लिस ५० रनमा अविजित रहे भने कप्तान रिची बेरिङ्टनले ४० रन जोडे । ब्रान्डन म्याकमुलनले ३९ रन बनाउँदा फिन्ले म्याकक्रिथ र ज्याक जार्भिसले समान ३० रन बनाए ।
नेपाल ‘ए’ का लागि आकाश चन्दले ३ विकेट लिए भने शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले समान १–१ विकेट लिए । यसअघि शुक्रबार भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले हराएको थियो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर पाँच बल बाँकी छँदै पूरा गरेको थियो । उक्त खेलमा मयान यादवले ७२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए भने सन्दीप जोराले ३६ रन जोडेका थिए ।
अभ्यास सिरिज अन्तर्गत नेपाल ‘ए’ ले अब सोमबार अमेरिकासँग अन्तिम खेल खेल्नेछ । त्यसपछि नेपाल, अमेरिका र स्कटल्याण्डबीच आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत औपचारिक सिरिज सुरु हुनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
























