जब ४८ राष्ट्र एउटै सपनाका लागि लड्नेछन

जब ४८ राष्ट्र एउटै सपनाका लागि लड्नेछन

काठमाडौं । फुटबलप्रेमीका लागि सबैभन्दा ठूलो उत्सव मानिने फिफा विश्वकप अब नजिकिँदै गएको छ । सन् २०२६ को विश्वकप इतिहासकै विशेष संस्करण बन्ने निश्चितजस्तै छ, किनभने पहिलो पटक तीन देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन् ।

प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । यसपटक कुल ४८ टोली सहभागी हुनेछन्, जसले यो संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो बनाउनेछ । आयोजक राष्ट्र भएकाले अमेरिका, क्यानडा र मेक्सिको स्वतः विश्वकपमा छनोट भएका हुन् ।

विश्वकपको सुरुवात सन् १९३० मा उरुग्वेबाट भएको थियो । दोस्रो विश्वयुद्धका कारण १९४० को दशकमा केही समय रोकिए पनि त्यसपछि हरेक चार वर्षमा विश्वकपले संसारलाई एक बनाउँदै आएको छ । फुटबलले केवल खेल मात्र होइन, देशको इतिहास, संस्कृति र भावनालाई पनि जोड्ने काम गरेको छ । यही कारण विश्वकपलाई “फुटबलको महाकुम्भ” भनिन्छ ।

यसपटक ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ४ टोली रहनेछन् । समूह चरणपछि शीर्ष दुई टोली र तेस्रो हुनेमध्ये उत्कृष्ट ८ टोली गरी ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । विश्वकपमा कुल १०४ खेल हुनेछन् । समूह चरणमा ७२ खेल हुनेछ भने त्यसपछि राउण्ड अफ ३२, प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।

यसपटक विश्वकपका लागि छनोट हुने क्रममा विभिन्न राष्ट्रहरूले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । जापानले लगातार आठौँ विश्वकपमा स्थान बनायो भने न्युजिल्याण्डले ओएफसी फाइनल जित्दै टिकट पक्का गर्‍यो । एसियाबाट इरान, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, अष्ट्रेलिया, कतार, साउदी अरेबिया र इराक छनोट भए । विशेषगरी उज्बेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकपमा पुगेर इतिहास रचे ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे, पाराग्वे, इक्वेडर र कोलम्बिया छनोट भए । नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीको नेतृत्वमा ब्राजिलले विश्वकपको हरेक संस्करण खेल्ने आफ्नो ऐतिहासिक यात्रा कायम राख्यो । अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भए, भने युरोपबाट फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी, पोर्चुगल, क्रोएसिया, नेदरल्याण्ड्स, बेल्जियम, स्विट्जरल्याण्ड, स्कटल्यान्ड, स्विडेन, अष्ट्रिया, टर्किये, चेक रिपब्लिक र बोस्निया तथा हर्जेगोभिना छनोट भए ।

साथै यसपटक उपाधिका मुख्य दाबेदारका रूपमा साविक विजेता अर्जेन्टिना, पाँच पटकको विश्वच्याम्पियन ब्राजिल, फ्रान्स, स्पेन र इंग्ल्यान्डलाई हेरिएको छ । लियोनेल मेस्सीको अनुभव र युवा खेलाडीहरूको संयोजनले अर्जेन्टिनालाई फेरि बलियो बनाएको छ । ब्राजिल २४ वर्षदेखिको उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा हुनेछ । भिनिसियस जुनियर जस्ता युवा स्टार र प्रशिक्षक कार्लो एन्सेलोट्टीमाथि समर्थकको ठूलो आशा छ ।

फ्रान्ससँग किलियन एम्बाप्पे, उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बारकोलाजस्ता स्टार खेलाडी छन् भने स्पेन नयाँ पुस्ताको आकर्षक फुटबलका कारण सबैको नजरमा छ । इंग्ल्यान्डसँग ह्यारी केन, जुड बेलिङ्घम र फिल फोडेनजस्ता विश्वस्तरीय खेलाडी छन् ।

यस्तै पोर्चुगल, नेदरल्याण्ड्स र बेल्जियम पहिलो विश्वकप उपाधिको सपना बोकेर मैदानमा उत्रनेछन् । क्रिस्टियानो रोनाल्डोका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्छ । नेदरल्याण्ड्स तीन पटक उपविजेता बने पनि अझै उपाधिविहीन छ भने बेल्जियमको “गोल्डेन जेनेरेशन” ले अहिलेसम्म ठूलो सफलता हात पार्न सकेको छैन । मोरोक्को, क्रोएसिया र नर्वे जस्ता टोलीले पनि यसपटक चकित पार्न सक्ने अनुमान गरिएको छ । मोरोक्कोले २०२२ मा सेमिफाइनल पुगेर इतिहास बनाएको थियो भने क्रोएसियालाई कहिल्यै कम आँक्न सकिँदैन । नर्वेका एर्लिङ हालान्ड यस विश्वकपका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुनेछन् ।

विश्वकप इतिहासमा हालसम्म केवल ८ राष्ट्रले मात्र उपाधि जितेका छन् । ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ भने जर्मनी र इटालीले समान चार पटक उपाधि जितेका छन् । अर्जेन्टिनाले तीन पटक, उरुग्वे र फ्रान्सले दुई–दुई पटक तथा इंग्ल्यान्ड र स्पेनले एक–एक पटक विश्वकप जितेका छन् ।

विश्वकपका अघिल्ला विजेता टोलीहरूको इतिहास पनि निकै गौरवपूर्ण छ । सन् १९३० मा उरुग्वेले पहिलो विश्वकप आयोजना गरेर जित हासिल गरेको थियो । इटालीले १९३४ र १९३८ मा लगातार दुई उपाधि जित्यो । ब्राजिलले १९५८ मा पेलेको प्रेरणामा पहिलो उपाधि जित्दै पछि पाँच पटक विश्वच्याम्पियन बन्ने कीर्तिमान बनायो ।

इंग्ल्यान्डले १९६६ मा आफ्नो एकमात्र विश्वकप जित्यो भने अर्जेन्टिनाले डिएगो म्याराडोना र पछि लियोनेल मेस्सीको नेतृत्वमा विश्व फुटबलमा स्वर्णिम इतिहास बनायो । फ्रान्स, स्पेन र जर्मनीले पनि आफ्नो प्रभुत्व स्थापित गरिसकेका छन् ।

विश्वकप केवल खेल प्रतियोगिता होइन, यो भावना, सपना र गौरवको संगम हो । कुनै टोली पहिलो पटक इतिहास रच्ने लक्ष्यमा हुनेछ भने कुनै टोली पुरानो गौरव फर्काउने अभियानमा हुनेछ । अब सम्पूर्ण फुटबल संसारको नजर उत्तर अमेरिकातर्फ केन्द्रित छ, जहाँ फेरि एकपटक नयाँ इतिहास लेखिनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।