गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेका विभिन्न खाद्य वस्तुहरू बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गरिएको उक्त निर्णयपछि सम्बन्धित कम्पनीहरूलाई उत्पादन, बिक्री तथा वितरण रोक्न कडा निर्देशन दिइएको छ।

विभागका अनुसार यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ चाउचाउ गुणस्तर परीक्षणमा असफल भएपछि फिर्ता गर्न आदेश दिइएको हो। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशाला परीक्षण गर्दा उक्त चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नभएको पाइएको जनाएको छ।

परीक्षणका क्रममा चाउचाउमा प्रयोग भएको ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ अत्यधिक देखिएको विभागको भनाइ छ। उक्त मात्रा तोकिएको सीमाभन्दा बढी हुँदा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिम रहने जनाइएको छ। स्वास्थ्यकर्मीका अनुसार यस्तो अवस्था हुँदा पेटसम्बन्धी समस्या, अपच, वान्ता लगायतका समस्या देखिन सक्ने सम्भावना हुन्छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम ०४ ए ब्याचका सबै उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ। साथै, ती उत्पादनहरूको बिक्री वितरण नगर्न र बजारबाट पूर्ण रूपमा हटाउन सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई निर्देशन दिइएको छ।

त्यस्तै, १०० ग्रामको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउ पनि गुणस्तर मापदण्डअनुसार नभएको पाइएपछि बजारबाट फिर्ता गर्न आदेश दिइएको छ। यी उत्पादनहरूमा पनि अनिवार्य गुणस्तर मापदण्ड पूरा नभएको विभागले स्पष्ट पारेको छ।

विभागले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बजारमा रहेका यस्ता वस्तुहरू तत्काल फिर्ता गरी सुरक्षित रूपमा व्यवस्थापन गर्न निर्देशन दिएको छ। साथै, भविष्यमा यस्ता मापदण्डविपरीत उत्पादन भेटिए थप कडा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।

त्यसैगरी, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तर परीक्षणमा असफल भएपछि बजारबाट फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ।

विभागले नियमित बजार अनुगमनलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ। उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै गुणस्तरहीन खाद्य वस्तु नियन्त्रणमा थप कडाइ गरिने समेत विभागले स्पष्ट पारेको छ।