बैतडी । चालु आर्थिक वर्ष २०७९/८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन् । यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको एक अर्ब ६९ करोड ४८ लाख कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ ।
सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ । मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशमलव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन् ।
पञ्चेश्वर गाउँपालिकाले १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुतर्फको ३० करोड २९ लाखमध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ ।
दोगडाकेदार गाउँपालिकाले १५ करोड ७३ लाख पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ । चालुतर्फ भने ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिए ।
सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाले १९ करोड ६९ लाख विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको ४५ करोड ५२ लाखमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ ।
सिगास गाउँपालिकाले १७ करोड ६८ लाख पूजिगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको ३८ करोड ८६ लाखमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ ।
प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले १७ करोड ५० लाख पुँजीगत बजेटमध्ये ८३ दशमलव ३१ प्रतिशत खर्च गरेको छ । चालुतर्फको ३२ करोड ३९ लाखमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ ।
सुर्नया गाउँपालिकाले ११ करोड ४९ लाख पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ । चालुतर्फको ३६ करोड १८ लाखमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ ।
यस्तै शिवनाथ गाउँपालिकाले १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ ।
पाटन नगरपालिकाले २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पूजीगत खर्च गरेको छ । चालुतर्फ ४८ करोड २९ लाखमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ ।
यसै गरी पुर्चौडी नगरपालिकाले चालुतर्फको ४७ करोड १० लाखमध्ये ४३ करोड ८० लाख अर्थात् ९३ प्रतिशत खर्च गरेको छ । मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ ।
उसले १९ करोड ३० लाखमध्ये रु नौ करोड ४२ लाख मात्र खर्च गरेको छ । यस्तै नगरपालिकाले चालुतर्फको ३६ करोड ३७ लाखमध्ये ३१ करोड ३१ लाख अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ ।
नगरप्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए । उनले भने, ‘कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो । भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ ।’