लेबनानमा खटिएका नेपाली शान्ति सैनिक सबै सुरक्षित : नेपाली सेना

लेबनानमा खटिएका नेपाली शान्ति सैनिक सबै सुरक्षित : नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधारमा संयुक्त राष्ट्र सङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए।

शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्र सङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ, सैनिक प्रवक्ता केसीले बताए।

अहिले लेबनानमा आठ सय ७७ जना नेपाली शान्ति सैनिक छन् । यसैबीच नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको पछिल्लो आक्रमणको निन्दा गरेको छ ।