झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापाको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्न कन्काई पुलको निर्माण गएको १३ वर्षदेखि अलपत्र परेको छ ।
विं।सं। २०६८ मा निर्माण सम्झौता भएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयवासीले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा र कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । विं.सं. २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि अहिलेसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।
पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका इन्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौं पटक थप भएको म्याद विं।सं। २०८० को असारमा सकिएको थियो ।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनीले काम शुरुआत नगरेको इन्जिनियर राईले बताए।
उनका अनुसार अझै पनि काम शुरू गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।