हुम्लामा बाक्लो हिमपात सुरु

हुम्लामा बाक्लो हिमपात सुरु

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताइन् ।

नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।

हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । यसवर्ष जिल्लामा पाँचौ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।