काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा वाग्मती सफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष सरोज ढकालको नेतृत्वमा तीनकुने वडा नं ३१ को कार्यालय अगाडि वाग्मती नदीमा वडा सदस्यहरू अशोक केसी, हुमा आचार्य, वडा नागरिक समाज सञ्जालका पदाधिकारीको सफाइमा सक्रिय सहभागिता थियो । सफाइमा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेल, आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेललगायतको सफाइमा सक्रियता थियो ।
यसैगरी आलोकनगर वाग्मती अभियानकर्मी, अधिकारसम्पन्न बागमती सम्पन्न वाग्मती समितिका मञ्जु राई, सुन्दरीघाट बागमती सफा अभियान, योगगुरु किशोर जोशीसहित योग साधक, नेपाल प्रहरी, सामुदायिक नेपाल प्रहरी, वडा नं ३१ का कर्मचारी, वडावासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुका सरसफाइ गाडीसहित टोलीको पनि सहभागिता थियो ।
सफाइबाट करिब तीन मेट्रिक टन फोहर सङ्कलन गरिएको थियो । आज सङ्कलन गरिएको फोहर महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाही जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ । बागमती सफाइ महाअभियानको आज ६१६औँ हप्ता पूरा भएको छ ।




























