जिम्बावे । आईसीसी विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ ।
जिम्बावेको हरारे रंगशालामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३८ रनमै समेटियो । नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे । उनले ९३ बलमा ६३ रन बनाए । त्यस्तै, गुल्सन झाले ४२, रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले २८-२८ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले तीन, अल्जारी जोसेफ, किमो पउल र अकिल हुसैनले दुई-दुई तथा केल मेयर्सले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा ३३९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो । होपले १२९ बलमा १३२ रन बनाए भने पुरनले ९४ बलमा ११५ रन बनाए । वेस्ट इन्डिजका ब्रान्डन किङले ३२, रोवमन पावलले २९ र जेसन होल्डरले १६ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए । उनले होप, पुरन र केमो पावललाई आउट गरे । त्यस्तै, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।
यो जितसँगै वेस्ट इन्डिजको चार अंक भएको छ । त्यस्तै, जिम्बावेको पनि चार अंक छ । नेपाल र नेदरल्यान्डस्को दुई-दुई अंक छ । अमेरिकाले अंक जोड्न सकेको छैन । नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्नेछ ।