मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

गण्डकी । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्नेे भएको छ ।

महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उनले बताए ।

सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गरेका छन् । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो ।

बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थालेका हुन् । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०\१० रुपैयाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाए। बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आएका छन् । उनका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । उनले एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए । उनको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुछ्रे गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिए ।

“मैले दुईवटा बिरुवाबाट मरिचखेती सुरु गरेको थिएँ, यतिखेर राम्रो उत्पादन त छँदै छ नर्सरीमा एक हजार ५०० बिरुवा बिक्रीका लागि तयार छन्”, उनले भने । बाँदरले पनि नखाने र कुनै किराको प्रकोप मरिचखेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उनको भनाइ छ । उनको मरिचखेती गत वैशाखमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन गरेका थिए । अवलोकनसँगै महानगरप्रमुख आचार्यले मरिचखेतीको विस्तारमा जोड दिँदै कृषकलाई बिरुवा वितरण सुरु गरेका हुन् । मरिचखेतीबाट सामान्य लगानीमा अधिकतकम फाइदा लिन सकिने महानगरपालिकाका कृषि विकास शाखाप्रमुख कडरिया बताउछन् ।

सामान्यतः एक हजारदेखि एक हजार २०० मिटरको उचाइमा मरिचखेती हुने बताउँदै उहाँले सामान्यतः ओसिलो ठाउँमा यसको उत्पादन हुने जानकारी दिए । बहुवर्षे सदाबहार मरिच लहरे बाली हो । भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक खेती हुने गरेको छ । नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लाहरुमा मरिचखेती हुने गरेको छ । मरिचको प्रयोग मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगका लागि पनि मरिच प्रयोग गरिन्छ ।

वडामा कृषितर्फ आकर्षण बढाउन निरन्तर पहल भइरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । वडाभित्र व्यावसायिक पशुपालनलाई पनि जोड दिइएको छ । उहाँले वडाबाटै वार्षिक रु एक करोड ३० लाखको दूध बिक्री हुने गरेको बताए । मरिचखेती विस्तारसँगै मसलाजन्य बाली उत्पादनमा जोड दिने लक्ष्य राखिएको बताउँदै उहाँले कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै यसबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखिएको बताए ।