नियम उल्लंघनमा दुई बीमा कम्पनी कारबाहीमा

नियम उल्लंघनमा दुई बीमा कम्पनी कारबाहीमा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी नियम उल्लंघन गरेको भन्दै दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ ।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको जनाएको हो ।

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको सीमा भन्दा बढी बीमाशुल्क छुट दिएको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । बीमा नियमअनुसार कुनै पनि कम्पनीले जारी गरिने बीमालेखमा अनधिकृत रूपमा छुट, सहुलियत वा कटौती दिन पाउँदैन । यद्यपि, बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री गरिएको अवस्थामा अधिकतम पाँच प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था रहेको छ ।

तर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले उक्त प्रावधान विपरीत बढी छुट दिएको पाइएपछि बीमा ऐन, २०७९ अनुसार कारबाही गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पुनर्बीमा दलालसम्बन्धी निर्देशिका उल्लंघन गरेको आरोपमा पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्राधिकरणका अनुसार कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी प्रक्रिया पूरा नगरी नियम विपरीत काम गरेको पाइएकाले कारबाही गरिएको हो । पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ मा समितिको स्वीकृतिबिना इजाजतपत्र प्राप्त संस्थाको स्वामित्व परिवर्तन, हस्तान्तरण वा विघटन गर्न नपाइने स्पष्ट व्यवस्था छ । साथै, स्वामित्व परिवर्तन गर्न चाहेमा कारण खुलाएर समितिसमक्ष निवेदन दिनुपर्ने प्रावधान पनि रहेको छ ।

तर लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले उक्त व्यवस्था पालना नगरेको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ अनुसार जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पछिल्लो समय बीमा क्षेत्रमा नियमन कडा बनाउँदै नियम उल्लंघन गर्ने कम्पनीमाथि निगरानी बढाएको जनाएको छ । बीमा क्षेत्रलाई पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउन कानुनी प्रावधान उल्लंघन गर्ने संस्था तथा कम्पनीमाथि आवश्यक कारबाहीलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ ।