वीरगञ्ज । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै जाँदा वीरगञ्ज नाका हुँदै आयात हुने ई–सवारीको परिमाणमा उल्लेख्य वृद्धि भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा मात्रै यहाँबाट २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन भित्रिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएका थिए। यस वर्ष भने आयात रकम १०२ प्रतिशतले बढ्दै थप १ अर्ब ५० करोड रुपैयाँ बराबरको वृद्धि भएको देखिन्छ। वीरगञ्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पछिल्लो समय वातावरणमैत्री सवारीप्रतिको आकर्षण, इन्धन खर्चमा हुने बचत तथा सरकारी नीतिगत प्रोत्साहनका कारण ई–सवारी आयात तीव्र रूपमा बढिरहेको बताएका छन्।
विवरणअनुसार, चालु आवको नौ महिनामा मात्रै १ अर्ब ४६ करोड रुपैयाँका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। गत वर्ष सोही अवधिमा ४८ करोड रुपैयाँका १७२ वटा मात्र आयात भएका थिए। यसले चार पाङ्ग्रे विद्युतीय सवारीप्रति उपभोक्ताको रुचि तीव्र रूपमा बढेको संकेत गर्छ।
दुई पाङ्ग्रे सवारीतर्फ पनि उस्तै उत्साह देखिएको छ। चालु आवमा ९६ करोड रुपैयाँ बराबरका ७ हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्, जबकि अघिल्लो वर्ष ५५ करोड रुपैयाँका ४ हजार २२७ वटा मात्रै आयात भएका थिए। दैनिक आवागमनका लागि सस्तो र सहज विकल्पका रूपमा विद्युतीय मोटरसाइकल लोकप्रिय बन्दै गएको व्यवसायीहरूको भनाइ छ।
त्यसैगरी, तीन पाङ्ग्रे सवारीसाधन (ई–रिक्सा लगायत) को आयात पनि बढ्दो क्रममा छ। चालु आवमा ५३ करोड रुपैयाँ बराबरका ४ हजार ६०६ वटा यस्ता सवारी आयात भएका छन्। अघिल्लो वर्ष भने ४५ करोड रुपैयाँका ३ हजार ६१३ वटा मात्रै आयात भएका थिए। पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढाव, दीर्घकालीन रूपमा सञ्चालन खर्च कम हुने अपेक्षा र विद्युतीय सवारीमा उपलब्ध कर छुट तथा सहुलियतहरूले बजारलाई थप चलायमान बनाएका छन्। साथै, सहरी क्षेत्रमा चार्जिङ पूर्वाधार विस्तार हुँदै जानु पनि यसको प्रमुख कारणका रूपमा लिइएको छ।
यद्यपि, चार्जिङ स्टेसनको पर्याप्त विस्तार, स्पेयर पार्ट्सको उपलब्धता र प्राविधिक जनशक्तिको अभावजस्ता चुनौती अझै बाँकी रहेको सरोकारवालाहरू बताउँछन्। ग्रामीण क्षेत्रमा पूर्वाधार अभावका कारण विद्युतीय सवारीको प्रयोग अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। समग्रमा, आयात तथ्यांकले नेपालमा विद्युतीय सवारीतर्फको संक्रमण तीव्र गतिमा अगाडि बढिरहेको देखाउँछ। आगामी दिनमा सरकारी नीतिगत स्थिरता र पूर्वाधार विस्तार भएमा ई–सवारीको प्रयोग अझ व्यापक हुने अपेक्षा गरिएको छ।



























